- भोटेकोशी बाढीबाट जोगिएका गणेश नेपाली स्वयंसेवक बनेर सेवामा ।
- तुइनमा डोरी तान्दै बाढीपीडितलाई वारिपारि गराउँदै ।
- दैनिक पाँच सयसम्मलाई तुइनबाट आवतजावतमा सहजीकरण ।
काठमाडौँ । विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने उदाहरण रसुवा मैलुङका गणेश नेपालीले प्रस्तुत गर्नुभएको छ । यही भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट जोगिनुभएका नेपाली अहिले जोखिम मोलेर त्रिशूली नदीमाथि बनेको अस्थायी तुइनमा डोरी तान्ने काममा स्वयंसेवकका रूपमा खटिनुभएको छ ।
विदुर नगरपालिका-९ स्थित सिमुटार-कोलनी जोड्ने तुइनमा उहाँ नेपाल रेडक्रसका स्वयंसेवकका रूपमा बाढी प्रभावितसहित अत्यावश्यक सामग्रीलाई तुइनमार्फत वारिपारि गर्न सहजीकरण गरिरहनुभएको छ ।
उहाँले भन्नुभयो, “बाढीमा परेर घाइते हुनुभएका दाजु काठमाडौँस्थित वीर अस्पतालको ट्रमामा उपचाररत हुनुहुन्छ । भेट्न जान पनि पाएको छैन । बाढी प्रभावितको पीडा देखेर मनले मानेन । यहाँ आएर तुइन जडान गर्न स्वयंसेवक भएर सुरक्षाकर्मीलाई साथ र सहयोग गरेँ । तुइन जडान भएपछि डोरी तान्ने काममा स्वयंसेवक गरिराखेको १२ दिन बितिसक्यो ।”
बाढीले सिमुटार-कोलनी पुल क्षणभरमै बगाएपछि कोलनीवासी ठूलो समस्यामा परेका थिए । आवतजावतको सम्पर्क टुट्दा प्रभावितको खोज तथा उद्धारमा समेत जटिलता आएको थियो । सुरुआती दिनमा हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।
बाढीअघि पुलमार्फत सात-आठ मिनेटमा पुग्न सकिने स्थानमा अहिले सात घण्टामा पनि पुग्न कठिन भएको नेपालीले बताउनुभयो ।
उहाँका अनुसार तुइन जडान भएपछि अहिले दैनिक पाँच सयसम्म मानिसलाई वारिपारि गराउनुपर्छ । बाढी प्रभावितसहित अन्यलाई वारिपारि गर्न टोकन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । बिरामी, बाढीमा आफन्त गुमाएका, अतिप्रभावित, महिला, बालबालिका तथा अत्यावश्यक सामग्री लैजानेलाई पहिलो प्राथमिकता दिइएको छ ।
उहाँले भन्नुभयो, “स्वयंसेवक भएर सेवा गर्न पाउँदा म खुसी छु, बाढीको पीडा सम्झन चाहन्न ।”
नेपाल रेडक्रस संरक्षण विभागका प्रमुख दिव्यराज पौडेलले बाढी प्रभावित स्थानमा रेडक्रसका स्वयंसेवक अहोरात्र खटिइरहनुभएको जानकारी दिँदै स्वयंसेवक नेपालीको सेवा उदाहरणीय रहेको बताउनुभयो । रासस
