- ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता ।
- भारतका मात्रै १८९ पर्यटक हराए ।
- ३१० विदेशी पर्यटकको उद्धार, १३ सम्पर्कमा ।
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।
पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएको राससलाई जानकारी दिनुभयो । बेपत्ता भएका विदेशी पर्यटकमध्ये २६९ पुरुष, ३२९ महिला र नौ जनाको लिङ्ग खुलेको छैन ।
बेपत्ता विदेशी नागरिकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका छन् । विभागका अनुसार भारतका १८९ नागरिक बेपत्ता भएका छन् ।
त्यसैगरी अष्ट्रेलियाका ३३, बेलारुसका दुई, क्यानडाका ३०, फिनल्याण्डका एक, फ्रान्सका चार, जर्मनीका आठ, हङ्गेरीका एक, आयरल्यान्डका दुई, इजरायलका एक, लिथुआनियाका एक, मलेसियाका ५५ र नेदरल्याण्डका दुई जना बेपत्ता भएका छन् ।
न्यूजिल्याण्डका पाँच, पोर्चुगलका दुई, रसियाका छ, सिङ्गापुरका नौ, दक्षिण अफ्रिकाका छ, स्पेनका दुई, युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६५, जापानका पाँच, फिलिपिन्सका एक, काजकिस्तानका तीन, बेल्जियमका दुई र स्वीडेनका एक जना बेपत्ता छन् ।
लाटभियाका ३३, स्वीट्जरल्याण्डका एक, इटलीका दुई, चीनका ३७, भियतनामका एक, इस्टोनियाका दुई र कोरियाका नौ पर्यटक बेपत्ता भएका छन् ।
बाढीमा परेर नेपालका १८८ पर्यटक पनि बेपत्ता भएका छन् । विभागका अनुसार बेपत्ता हुने नेपालीमा १६१ पुरुष र २७ महिला छन् । उनीहरूमा विदेशी पर्यटकका सहयोगीका रूपमा गएका तथा कैलाश मानसरोवर र गोसाइँकुण्ड घुम्न गएका नेपाली रहेका विभागका सूचना अधिकारीले बताउनुभयो ।
सरकारले विपद्का बीच उद्धार कार्य पनि जारी राखेको छ । हालसम्म ३१० विदेशी पर्यटकको सफल उद्धार गरिएको विभागले जनाएको छ । उद्धार भएकामध्ये २५८ पुरुष र ५२ महिला छन् ।
यसैगरी बाढीपछि सम्पर्कविहीन भएकामध्ये १३ जना तीन पुरुष, नौ महिला र एक अन्य हाल सम्पर्कमा आएका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ता भएकाको खोजी तथा राहत कार्यलाई तीव्रता दिएका छन् । रासस
