RayNewsDaily
सुकुल भोज हराउँदै : पार्टी प्यालेसले विस्थापित गर्दै नेवार समुदायको मौलिक परम्परा
  • सामूहिकता र आत्मीयताको प्रतीक सुकुल भोज हराउँदै
  • पार्टी प्यालेसले विस्थापित गर्दै परम्परागत भोज
  • नयाँ पुस्ताको सहभागिता नहुँदा संरक्षणमा चुनौती

रेणु त्वानाबासु/ख्वप (भक्तपुर) । नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न छ, त्यति नै खानपान र खाने शैलीले पनि परिचित छ । नेवार समुदायमा हरेक महिनाजसो कुनै न कुनै अवसरमा भोज हुने गर्दछ । यसलाई नेपाल भाषामा ‘सुकु भ्वय्’ अर्थात् सुकुल भोज भनिन्छ । तर पछिल्लो समय सामूहिक रूपमा सुकुलमा बसेर खाने यो परम्परागत भोज विस्तारै हराउँदै गएको छ ।

सुकुल भोज अहिले मृत्यु संस्कार र गुठीको भोजमा मात्र सीमित हुँदै गएको देखिन्छ । अन्य शुभकार्य जस्तै व्रतबन्ध, बेलविवाह, गुफा, पास्नी र विवाहलगायतका भोज अधिकांश पार्टी प्यालेस तथा आधुनिक सभाहलमा आयोजना हुन थालेका छन् । सुकुलको स्थान अहिले कुर्सी र टेबलले लिन थालेका छन् ।

संस्कृति अध्ययनकर्ता गणेश रञ्जितकार बदलिँदो जीवनशैली, बढ्दो व्यस्तता र आधुनिक पहिरनका कारण सुकुल भोजको प्रचलन घट्दै गएको बताउनुहुन्छ । सुकुल भोजमा लामो समयसम्म बसेर क्रमशः परिकार खानुपर्ने भएकाले अहिलेको व्यस्त जीवनशैलीसँग यसको तालमेल नमिलेको उहाँ बताउनुहुन्छ ।

सुकुल भोजमा लामो समय पलेँटी कसेर बस्नुपर्ने भएकाले आधुनिक पहिरन पनि यसको प्रचलन घट्नुको एउटा कारण बनेको उहाँको बुझाइ छ । ‘वानपिस’, स्कर्ट, गाउन, पाइन्ट, हाफ पाइन्ट तथा लेहेंगालगायतका पहिरनमा सुकुलमा लामो समय बस्न सहज नहुने भएकाले नयाँ पुस्ता आधुनिक भोजतर्फ आकर्षित भएको उहाँ बताउनुहुन्छ ।

भक्तपुर थिमीकी सुमित्रा श्रेष्ठका अनुसार नेवार समुदायका मानिस सुकुल भोजमा खुबै रमाउने गर्दथे । “सबै जना मिलेर रमाइलो गर्दै भोज खान्छन् र खुवाउँछन् पनि,” उहाँ भन्नुहुन्छ, “हिजोआज मानिसको बेफुर्सदी बढेको छ । यो भोज तुलनात्मक रूपमा खान लामो समय लाग्छ, त्यसकारण फेज आउट भएको होला ।”

बदलिँदो जीवनशैलीसँगै मानिसको दैनिक व्यस्तता बढेको छ । परिवारका सदस्य तथा आफन्तसँग लामो समय बसेर भोज खाने समय निकाल्न कठिन हुन थालेपछि परम्परागत सुकुल भोजको अभ्यास पनि घट्दै गएको देखिन्छ । समय धेरै लाग्ने, पलेँटी कसेर बस्नुपर्ने, फरकफरक पोशाकमा बस्न असहज हुने, आफूलाई मन परेको परिकार मात्रै लिएर खान नमिल्ने तथा साथीभाइसँग गफ गर्दै खान सहज नहुनेलगायतका कारण सुकुल भोज विस्तारै अलोकप्रिय बन्दै गएको अनुमान गरिएको छ ।

सुकुल भोजमा परालबाट बनेको सुकुलमा लहरै बसेर विभिन्न परिकार खाने गरिन्छ । परिवारका सदस्य, आफन्त तथा नातेदारको जमघट गराउनु र आपसी आत्मीयता बढाउनु भोजको मुख्य उद्देश्य हुने गर्दछ ।

सीमित भएकै हो त सुकुल भोज ?

संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार सुकुल भोज अहिले मृत्यु संस्कार र गुठी भोजमा मात्र सीमित हुँदै गएको छ । उहाँका अनुसार पहिले नेवार समुदायका विभिन्न चाडपर्व, जात्रा तथा सामाजिक संस्कारमा सुकुल भोजको व्यापक प्रचलन रहे पनि पछिल्लो समय यसको प्रयोग निकै साँघुरिएको छ ।

नेवार समुदायमा मृत्यु संस्कारका क्रममा न्हेनुमा (७ दिनमा), लत्या (४५ दिनमा), खुल्हा (६ महिनामा), दाकिला (एक वर्षमा) र वर्षेपिच्छे गरिने संस्कारमा सुकुल भोज खुवाउने चलन रहेको छ । तर यसमा नयाँ पुस्ताको सहभागिता खासै हुने गरेको छैन ।

मृत्यु संस्कारमा खुशीयाली र रमझम गर्न नहुने, यस्ता भोज औपचारिकताका लागि मात्र हुने तथा युवा पुस्ताको सहभागिता कम हुनेलगायतका कारण सुकुल भोजको लोकप्रियता विस्तारै घटेको देखिन्छ ।

नेवार समुदायमा भोज केवल खानपानको विषय मात्र नभई सामाजिक सम्बन्ध, सामूहिकता, आपसी सहयोग र सांस्कृतिक पहिचानसँग समेत जोडिएको छ । त्यसैले सुकुल भोज हराउँदै जानु भनेको एउटा खाने शैली हराउनु मात्र नभई त्यससँग जोडिएका सामाजिक तथा सांस्कृतिक अभ्यास कमजोर हुनु पनि हो ।

संस्कृतिप्रेमी सत्यराम सुवालका अनुसार यस्ता परम्परालाई जीवित राख्न नयाँ पुस्ताको सहभागिता आवश्यक छ । “परम्परा पुरानो पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गरे मात्र जीवित रहन्छ । नयाँ पुस्तालाई सुकुल भोजको महत्व बुझाएर व्यवहारमै सहभागी गराउनुपर्छ,” उहाँ भन्नुहुन्छ ।

सुकुल भोजलाई नेवार समुदायको महत्वपूर्ण मौलिक परम्पराका रूपमा संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ । आधुनिक जीवनशैली र नयाँ पुस्ताको बदलिँदो रुचिका कारण यस्ता परम्परागत अभ्यास विस्तारै ओझेलमा पर्दै गएका छन् ।

परम्परागत संस्कृतिको संरक्षण गर्नु भनेको केवल सुकुलमा बसेर खाना खाने शैली जोगाउनु मात्र नभई त्यससँग जोडिएको सामूहिकता, आपसी आत्मीयता, परम्परागत ज्ञान र सांस्कृतिक पहिचानलाई समेत संरक्षण गर्नु हो । त्यसैले आधुनिकतासँगै भोजको स्वरूप परिवर्तन भए पनि सुकुल भोजको मौलिकता र महत्वलाई पुस्तान्तरण गर्नुपर्ने आवश्यकता देखिन्छ । नेवारी परम्पराप्रेमीहरू टोलटोलमा रहेका चोकको संरक्षण गर्नुपर्नेमा समेत जोड दिन्छन् ।

पार्टी प्यालेसमा खुवाइन्छ त सुकुल भोज ?

धेरैजसो पार्टी प्यालेसमा सुकुल भोज खुवाउने व्यवस्था भएको देखिँदैन । त्यसैले कसैकसैले शुभकार्यको भोजमा सुकुल भोज खुवाउन चाहे पनि सम्भव नभएको देखिन्छ । भक्तपुरका केही पार्टी प्यालेसमा भने कुर्सीमा बसेर लहरै टेबलमा सुकुल भोज खुवाउने गरेको पनि भेटिन्छ ।

एकथरी मानिसले सबै पार्टी प्यालेसमा सुकुल भोज खुवाउने व्यवस्था गर्नुपर्नेमा समेत जोड दिने गरेका छन् ।

नयाँ पुस्तालाई यसको महत्व बुझाउन नसके भविष्यमा सुकुल भोज केवल इतिहासको विषय बन्न सक्ने सुवालको विश्लेषण छ । “सुकुल भोज नेवार समुदायको महत्वपूर्ण मौलिक परम्परा हो, यसको प्रचलन घट्दै जानु चिन्ताको विषय हो,” उहाँले भन्नुभयो ।

यस्तै अवस्था रहे मृत्यु संस्कार र गुठीमा भइरहेको सुकुल भोज पनि छिटै पार्टी प्यालेसको रात्रि भोजमा परिवर्तन हुन धेरै समय नलाग्ने उहाँको चिन्ता छ । “कुनै बेला भक्तपुरमा सुकुल भोज हुन्थ्यो भन्ने दिन पनि नआउला भन्न सकिँदैन,” उहाँले भन्नुभयो ।

नयाँ पुस्तालाई सुकुल भोजको महत्व बुझाउनुपर्नेमा उहाँले जोड दिनुभयो । काठमाडौँ, ललितपुर र अन्य नेवार बस्तीमा सुकुल भोज खुवाउने परम्परा विस्तारै लोप भइसकेको उहाँले बताउनुभयो ।

कहाँ र कसरी खुवाइन्छ सुकुल भोज ?

भक्तपुर नगरपालिका-७ का केशव त्वानाबासुका अनुसार पहिला घरको अगाडि रहेका चोकचोक तथा बाटोमा सुकुल भोज खुवाउने चलन थियो । फुर्सदमा बोराबाट सुकुल बनाउने, पाल टाँग्ने र बास ठहराएर एक हप्तासम्म भोज खुवाउने चलन रहेको उहाँ सुनाउनुहुन्छ । तर अहिले भने यो मृत्यु संस्कार र गुठीको भोजमा मात्र सीमित भएको उहाँ बताउनुहुन्छ । अहिलेको नयाँ पुस्तामा सहयोगको भावना कम हुँदै गएको उहाँको भनाइ छ ।

यो भोजमा लस्करै बसेर ‘झ्वः भ्वय्’ खाइन्छ । भोजमा आमन्त्रित पाहुनाहरू सुकुलमा पलेँटी कसेर लस्करै बस्नुपर्छ । भोजमा सुरुमा चिउरा र विभिन्न परिकारहरू जस्तै छ्यापी, भटमास, साग, आलु तामा, मासुलगायत क्रमैसँग पस्कने परम्परा छ ।

लहरै बसेका पाहुनामध्ये माथिल्लो पहिलो व्यक्तिदेखि अन्तिम व्यक्तिसम्म सबैलाई भोज नपस्केसम्म र माथिल्लो सदस्यले खान सुरु नगरेसम्म कसैले खान नपाउने परम्परा रहेको छ ।

सुकुल भोजमा आफूलाई मन लागेको परिकार मात्र लिएर खाइसकेपछि तत्काल उठ्ने सुविधा हुँदैन । परम्परागत विधिअनुसार भोजमा सहभागीलाई लहरै बसाएर क्रमशः विभिन्न परिकार पस्कने गरिन्छ । सबै परिकारको पालो पूरा भएपछि मात्र भोजबाट उठ्ने चलन छ ।

“पार्टी प्यालेसमा हुने भोजमा आफूलाई मन लागेको परिकार लियो, खायो र उठ्यो गर्न सकिन्छ,” स्थानीय युवा श्रीओम धौभडेलले भन्नुभयो, “तर सुकुल भोजमा त्यसरी हुँदैन । लहरै विभिन्न परिकार ल्याइन्छ र नटुङ्गेसम्म उठ्न पाइँदैन ।”

नेवार समुदायमा बच्चाको पास्नी, सूर्यदर्शन, व्रतबन्ध, विवाह, वार्षिकोत्सव, रथारोहण तथा गुठीका विभिन्न अवसरमा सुकुल भोज गर्ने परम्परा रहेको छ । परिवारका कुनै सदस्यको मृत्यु भएपछि गरिने मृत्यु संस्कारसँग पनि यसको महत्वपूर्ण सम्बन्ध छ । पहिले विभिन्न जात्रा तथा चाडपर्वमा समेत सुकुल भोज गर्ने चलन थियो । तर अहिले अधिकांश भोजभतेर पार्टी प्यालेसमा आयोजना गर्न थालिएपछि सुकुल भोज गुठी तथा मृत्यु संस्कारमा बढी सीमित हुन पुगेको छ ।

स्वास्थ्यवर्द्धक मानिन्छ परम्परागत भोज

संस्कृतिविद्हरूका अनुसार परम्परागत नेवारी भोजमा विभिन्न किसिमका परिकारको सन्तुलित संयोजन हुने भएकाले यसको आफ्नै स्वास्थ्यसम्बन्धी महत्व पनि रहेको छ । तर अहिलेको पुस्ताले यस्ता परिकार तयार पार्न समय र श्रम लाग्ने भन्दै आधुनिक भोजलाई प्राथमिकता दिन थालेको देखिन्छ ।

“परम्परागत नेवारी भोज स्वास्थ्यवर्द्धक हुने भए पनि अहिलेको पुस्ताले यसलाई तयार पार्न झन्झट मान्न थालेको छ,” युवा सुमन कवांँले भन्नुभयो, “पार्टी प्यालेसमा डिनर खाँदा छिट्टै भोक मेटिएजस्तो हुन्छ र केही समयपछि फेरि भोक लाग्न सक्छ । कहिलेकाहीँ पेटमा समस्या पनि हुने गरेको हुन्छ ।”

सुकुल भोजमा विभिन्न किसिमका अन्न, गेडागुडी, सागसब्जी, मासु, अचार तथा दुग्धजन्य परिकारको संयोजन हुने गर्दछ । परम्परागत रूपमा परिकारलाई निश्चित क्रममा पस्कने र खाने गरिन्छ ।

के-के परिकार हुन्छन् सुकुल भोजमा ?

नेपाल भाषामा ‘झ्वः भ्वय्’ भनेर समेत चिनिने सुकुल भोजमा परम्परागत नेवारी परिकारको विविधता पाइन्छ । यसमा चिउरा, अचार, हरियो लसुन, द्याकागु ला अर्थात् झोल भएको राँगाको मासु, केराउ, चना, सिमी, सिम्पुलगायतका गेडागुडीका परिकार समावेश हुन्छन् ।

त्यसैगरी काउली, आलु, छ्याला अर्थात् तामाको झोल भएको तरकारी, तकोला अर्थात् ठूलाठूला टुक्रा पारिएको राँगाको मासु, हरियो साग, अमिलो, भुटन र दहीलगायतका परिकार पस्कने गरिन्छ ।

भोजको अन्तिममा भिजाएको सानो केराउ, काटेको मुला, गाजर तथा फलफूलका केही टुक्रा सलादका रूपमा राख्ने परम्परा छ । परिकारको विविधता मात्र नभई तिनलाई निश्चित क्रममा पस्कने र खाने शैली पनि सुकुल भोजको विशेषता हो ।

कहिलेदेखि सुरु भयो सुकुल भोज ?

सुकुल भोजको सुरुवात ठ्याक्कै कुन समयदेखि भयो भन्ने यकिन प्रमाण नरहेको संस्कृतिविद्हरू बताउँछन् । नेवार समुदायले आफ्नो परम्परा, सामाजिक संरचना र सभ्यताको विकास गर्ने क्रममा सामूहिक रूपमा खाना खाने संस्कृतिसँगै सुकुल भोजको परिकल्पना गरेको हुनसक्ने उहाँहरूको भनाइ छ ।

सुकुल भोजसँग जोडिएको सामूहिकता, आत्मीयता, परम्परागत खानपान र सामाजिक सहभागिता नेवार समुदायको सांस्कृतिक पहिचानको महत्वपूर्ण पक्ष हो । आधुनिक जीवनशैलीसँगै यसको अभ्यास घट्दै गए पनि यसको मौलिक स्वरूप र सांस्कृतिक महत्वलाई नयाँ पुस्तासम्म पुर्‍याउन सके संरक्षण गर्न सकिने संस्कृतिविद्हरू बताउँछन् ।

प्राचीनकालमा काठमाडौँ उपत्यकाका राजाहरूले राज्यमा सम्पन्नता र एकता झल्काउन ठूला-ठूला सामूहिक भोजको आयोजना गर्दथे । सुरुका दिनमा भोजमा बस्दा धनी, गरिब, उच्च ओहोदाका र सर्वसाधारण व्यक्तिबीच विभेद हुने गथ्र्यो । हुनेखानेहरू चकटी वा महँगो कपडाका आसनमा बस्थे भने गरिबहरू खाली भुइँमा बस्नुपथ्र्यो ।

यो विभेद र असमानतालाई हटाउन मल्ल राजा र तत्कालीन संस्कृतिविद्हरूले एउटा नियम बनाए- भोजमा सरिक हुने सबैजना परालबाट बुनिएको एउटै लामो सुकुलमा लहरै बस्नुपर्ने । सुकुलमा बसेपछि राजा, मन्त्री, धनी वा गरिब कोही पनि सानो-ठूलो नहुने र सबैको हैसियत समान हुने मान्यता राखियो ।

यही सामाजिक समानता र आत्मीयताको भावना जगाउन नै ‘सुकुल भोज’ को सुरुवात भएको किंवदन्ती छ  रासस

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  १२:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update