रे समाचार/काठमाण्डू । अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा सम्भावित जोखिमका कारण बागमती र गण्डकी प्रदेशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी साधन सञ्चालन प्रभावित भएका छन्।
प्राप्त पछिल्लो विवरण अनुसार बागमती प्रदेशका काभ्रे, रसुवा, नुवाकोट, धादिङ, र चितवनका साथै गण्डकी प्रदेशको मनाङ जिल्लाका विभिन्न सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा प्रभावित भएका छन्।
वि.पि. राजमार्ग (काभ्रे):
सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी चल्ने सवारी साधनहरूका लागि समय तालिका निर्धारण गरिएको छ। साँझ १९:०० देखि बिहान ०५:०० बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन हुनेछन् भने बिहान ०४:०० देखि साँझ १८:०० बजेसम्म परिस्थिति विचार गरी अन्य सवारी साधन सञ्चालन गर्न पाइनेछ।
रसुवा र नुवाकोट सडक खण्ड:
रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टैस्थित त्रिशुली मैलुङ स्याफ्रुबेँसी सडक खण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ। यस्तै मुख्य राजमार्गहरू पनि पूर्ण अवरोधमा रहेका छन्। नुवाकोटको टोखा छहरे सडक खण्डमा बाढी र पहिरोको जोखिमका कारण राति २२:०० बजेदेखि बिहान ०५:०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। साथै, विदुर नगरपालिका-१० सिमटारस्थित पासाङ ल्हामु सडक खण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।
पृथ्वी राजमार्ग (धादिङ):
धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ कृष्ण भिरमा खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै सोही गाउँपालिकाको वडा नं. १० ज्याङखोला र शितलबजारमा भने पहिरो सफा गरी यातायात एकतर्फी सुचारु गराइएको छ।
नारायणगढ-मुग्लिन र चामे-बेसिशहर सडक:
चितवनको तुइनखोलामा सडक मर्मत भइरहेकाले गाडीको चाप हेरी एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। गण्डकी प्रदेशको मनाङस्थित नासो गाउँपालिका-३ धारापानीमा बाटो निर्माणको काम भइरहेकाले चामे-बेसिशहर सडक खण्डमा साना सवारी साधन मात्र सुचारु रहेका छन्।
यात्रीहरूलाई यात्रामा निस्कनुअघि सम्बन्धित क्षेत्रको सडक अवस्थाबारे जानकारी लिन र सावधानी अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको छ ।
