RayNewsDaily
नेप्सेसँगै कारोबार रकम पनि वृद्धि
  • नेप्से २५.५५ अंकले बढ्यो ।
  • कारोबार रकम ४ अर्ब ६८ करोड नाघ्यो ।
  • १३ मध्ये १२ उपसमूहमा वृद्धि ।

रे समाचार/काठमाडौँ । साताको पहिलो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक २५.५५ अंकले बढेर २५८५.०४ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन गत शुक्रबार पनि बढेर बन्द भएको नेप्सेले आज वृद्धि क्रमलाई निरन्तरता दिएको हो ।

नेप्सेसँगै आज कारोबार रकमसमेत बढेको छ । गत शुक्रबार ४ अर्ब ३६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

आज इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.४३ प्रतिशतले बढेको छ । त्रिशूली जलविद्युत् कम्पनीको शेयरमूल्य करिब साढे ६ प्रतिशत र सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ ।

उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ८.२३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २४ करोड ९० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै, लिबर्टी इनर्जीको करिब २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सानिमा मिडिल तमोर हाइड्रोपावरको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ ।

आज १३ वटा उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एउटा उपसमूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १५:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update