RayNewsDaily
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते
वर्षासँगै चट्याङ परेको सांकेतिक दृश्य ।
  • अलैँची भट्टीमा अलैँची केलाउँदै गर्दा चट्याङ लागेर उमेश दाहालको मृत्यु ।
  • चट्याङ लागेर ६४ वर्षीय पुष्पलाल कट्वाल र ६२ वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते ।
  • घाइते दुवै जनाको पाँचखपन आधारभूत अस्पताल वानामा उपचार भइरहेको छ ।

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका-८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । गएराति वर्षासँगै आएको चट्याङ लागेर अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका २८ वर्षीय उमेश दाहालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएका दाहाललाई पाँचखपन आधारभूत अस्पताल वाना पुर्‍याइएको थियो । अस्पतालमा भर्ना गरेलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गर्नुभएको थियो ।

त्यस्तै, चट्याङ लागेर सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कट्वाल र ६२ वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते हुनुभएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।

गम्भीर घाइते कट्वाल र दाहालको पाँचखपन आधारभूत अस्पताल वानामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल प्रहरी चौकी भर्तिवाल डाँडाबाट करिब चार किलोमिटर पूर्वमा रहेको जनाइएको छ । रासस

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update