RayNewsDaily
भोटेकोशी बाढी अपडेट : एक हजार ३६७ शव फेला
  • एक हजार ३६७ जनाको शव फेला
  • पाँच हजार १३२ जना अझै सम्पर्कविहीन
  • १३ हजार ६४६ जनाको उद्धार

काठमाडौँ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार ३६७ जनाको शव फेला परेको छ । भोटेकोशी र त्रिशूली बाढीपछि पाँच हजार १३२ जना अझै सम्पर्कविहीन छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२६, नवलपरासी पश्चिममा २२२ र चितवनमा ३६३ जनाको शव फेला परेको छ । तीमध्ये १०२ शवको सनाखतपछि आफन्तले बुझिसकेका छन् ।

सम्पर्कविहीनमध्ये नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३, बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६ र विदेशी पर्यटक करिब ५८९ जना रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोजी तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजार ६२८ जना विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् ।

बाढीमा परी घाइते तथा प्रभावित सात हजार १५१ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update