RayNewsDaily
किम्रुङखोलाको बहाव पूर्ववत्, जोखिम नरहेको वडाध्यक्षको भनाइ
कास्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा किम्रुङखोलामा पहिरो खस्दा देखिएको दृश्य । तस्बिर : सामाजिक सञ्जाल ।
  • किम्रुङखोलाको बहाव आज बिहानदेखि पूर्ववत् ।
  • खोला थुनिएको आशंकापछि रातभर उच्च सतर्कता ।
  • स्थानीय जनप्रतिनिधिले भने- तत्काल जोखिम छैन ।

कृष्ण दवाडी/कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित मोदी खोलाको सहायक किम्रुङखोलाको बहाव आज बिहानदेखि पूर्ववत् अवस्थामा फर्किएको छ । मंगलबार साँझ खोला थुनिएको आशंकापछि उच्च सतर्कता अपनाइए पनि अहिले जोखिम नरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

अन्नपूर्ण गाउँपालिका-११ का वडाध्यक्ष हिमबहादुर गुरुङले किम्रुङखोलाको बहाव अहिले पहिलाकै अवस्थामा रहेको र तत्काल कुनै जोखिम नदेखिएको जानकारी दिनुभयो ।

“हिजो साँझदेखि खोलामा पानी घटेपछि कतै पहिरोका कारणले हो कि भनेर सबैतिर चिन्ता र चासो भयो । हामीले पनि सबै ठाउँमा सतर्कताका लागि अपिल गरेका थियौँ । कतै पहिरो गएको कारणले हो कि भनेर माथि बुझ्न भनेका छौँ, तर अहिले खोलामा पानी पहिलाकै अवस्थामा बगेकाले जोखिम देखिँदैन । सबै जना ढुक्क भए हुन्छ,” अध्यक्ष गुरुङले भन्नुभयो ।

खोला थुनिएको हुनसक्ने सूचनापछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै मोदी र किम्रुङखोला नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले वीरेठाँटी र नयाँपुल तथा पर्वतको पातीचौर र डिमुवा क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको थियो। सम्भावित जोखिमका कारण स्थानीयवासी राति घर छाडेर सुरक्षित स्थानमा समेत गएका थिए ।

खोला थुनिएको हुनसक्ने सूचनापछि गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी तथा वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएको थियो । घान्द्रुक, वीरेठाँटी र नयाँपुलबाट समेत प्रहरी परिचालन गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

किम्रुङखोलामा गत असार २८ गते पनि एक्कासी बाढी आएको थियो।  उक्त बाढीले पुल बगाउनुका साथै होटलहरूमा क्षति पुगेको थियो ।

त्यसपछि मोदी खोलाको बाढीका कारण अन्नपूर्ण गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद भएका छन् । वीरेठाँटी-घान्द्रुक सडक तीन सातादेखि अवरुद्ध रहेकाले अहिले वीरेठाँटी क्षेत्रमा पुनर्निर्माणको काम भइरहेको छ । रासस 

 

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update