- पाल्पामा दुई महिनामै २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि ।
- वर्षायामसँगै डेङ्गु फैलाउने लामखुट्टेको जोखिम बढ्यो ।
- पानी जम्न नदिन र सरसफाइमा ध्यान दिन स्वास्थ्य कार्यालयको आग्रह ।
पाल्पा । चालु आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौमा पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईका अनुसार पछिल्लो दुई महिनामै सङ्क्रमितको सङ्ख्या २५५ पुगेको हो ।
पछिल्ला वर्षमा पाल्पामा डेङ्गु सङ्क्रमणको अवस्था उतारचढावपूर्ण देखिएको छ । आर्थिक वर्ष २०८२/०८३ मा ४३२, २०८१/०८२ मा ५१०, २०८०/०८१ मा ६८६, २०७९/०८० मा २५० र २०७८/०७९ मा २४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो ।
पछिल्लो दुई महिनामै २५५ जनामा सङ्क्रमण पुष्टि हुनुले यस वर्ष पनि पाल्पामा डेङ्गुको जोखिम उच्च रहेको देखाएको छ । वर्षायाममा पानी जम्ने स्थान बढेसँगै डेङ्गु फैलाउने एडिज जातको लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले सङ्क्रमणको जोखिम बढ्ने स्वास्थ्यकर्मी बताउँछन् ।
ल्याब टेक्निसियन अधिकृत भट्टराईले जलवायु परिवर्तनका कारण वातावरणीय अवस्थामा आएको परिवर्तन तथा डेङ्गु परीक्षणको दायरा बढेकाले सङ्क्रमण सङ्ख्या बढी देखिएको बताउनुभयो । पछिल्लो समय डेङ्गु परीक्षण सहज बन्दै गएपछि सङ्क्रमण पहिचान हुने क्रम पनि बढेको उहाँको भनाइ छ ।
पाल्पाको युनाइटेड मिसन, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजलगायतका अस्पतालमा आएका बिरामीमा डेङ्गु सङ्क्रमण देखिएको छ । कतिपय निजी मेडिकल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा समेत डेङ्गुको परीक्षण हुने गरेको छ ।
डेङ्गु सार्ने एडिज जातको लामखुट्टेले घर वरिपरि रहेका टायर, गमला, टिनका डब्बा तथा पानी जम्न सक्ने साना–ठूला भाँडाकुँडामा फूल पार्ने गर्दछ । फूलबाट लार्भा, प्युपा हुँदै वयस्क लामखुट्टे बन्ने भएकाले लार्भाकै अवस्थामा खोजी गरी नष्ट गर्न आवश्यक रहेको स्वास्थ्यकर्मी बताउँछन् ।
स्वास्थ्य कार्यालयले डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सचेतना कार्यक्रमलाई तीव्रता दिएको छ । कार्यालयले सरोकारवाला निकायसँग डेङ्गु रोगको रोकथाम तथा नियन्त्रणसम्बन्धी पैरवी तथा अभिमुखीकरणसमेत गरेको छ ।
वर्षायामसँगै लामखुट्टेको वृद्धि हुने र डेङ्गुको जोखिम बढ्ने भएकाले रोकथाम तथा नियन्त्रणका लागि घरआँगनदेखि सार्वजनिक स्थानसम्म सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा कार्यक्रममा जोड दिइएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालले लामखुट्टे नियन्त्रण गर्न सके डेङ्गुलगायत विभिन्न रोगबाट बच्न सकिने भन्दै वातावरणीय सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो । लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउने, झुलभित्र सुत्ने र घरका झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न उहाँले सुझाव दिनुभयो ।
त्यस्तै घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन, खाल्डाखुल्डी पुर्न तथा खानेपानी वा ढल चुहिएको भए तत्काल मर्मत गर्न उहाँले आग्रह गर्नुभयो । गमलाको प्लेट, फुलदानी र कुलरको पानी कम्तीमा हप्तामा एकपटक फेर्न पनि प्रमुख ढकालले अनुरोध गर्नुभयो । रासस
