- पहिरोका कारण साँफे–मार्तडी सडकखण्ड दुई दिनदेखि अवरुद्ध ।
- ३२ वटा विद्युत् खम्बा ढलेपछि बाजुराभर विद्युत् सेवा बन्द ।
- सडक र विद्युत् सेवा सुचारु गर्न प्राविधिक तथा सुरक्षा टोली परिचालन ।
बाजुरा । शनिबार रातिदेखिको अविरल वर्षापछि विभिन्न स्थानमा पहिरो जाँदा बाजुराको सडक र विद्युत् सेवा अवरुद्धभएको छ । सडक तथा विद्युत् सेवा बन्द भएपछि जिल्लाको जनजीवन प्रभावित भएको छ ।
पहिरोका कारण शनिबार रातिदेखि सदरमुकाम मार्तडी जोड्ने साँफे-मार्तडी सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बडीमालिका नगरपालिका-९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड र सुवाकाँधलगायत स्थानमा सडक माथिबाट ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
दुई दिनदेखि सडक अवरुद्ध हुँदा सदरमुकाम मार्तडीबाट आवतजावत गर्ने लामो तथा छोटो दूरीका सवारीसाधन रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार सडक खुलाउन आइतबारदेखि जेसीबी प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरिएको थियो । दिउँसो पुनः भारी वर्षा भएपछि काम रोकिएकोमा आज बिहानदेखि सडक विभागको एउटा जेसीबी र एउटा स्काभेटर प्रयोग गरी सडक खुलाउने काम भइरहेको उहाँले बताउनुभयो ।
जिल्लाभर विद्युत् आपूर्ति बन्द
शनिबार रातिको वर्षापछि पहिरोले ३२ वटा विद्युत्का खम्बा ढल्दा बाजुरामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पूर्णरूपमा अवरुद्ध भएको छ । बडीमालिका नगरपालिका-९ को सुवाकाँध, वीरेखोला र नुनेपानी क्षेत्रमा पहिरोले खम्बा ढालेपछि विद्युत् आपूर्ति बन्द भएको हो ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका अनुसार सुवाकाँधमा सडक माथिबाट ठूलो पहिरो खस्दा सात र वीरेखोला क्षेत्रमा २५ वटा खम्बा ढलेका छन् । शनिबार राति करिब ९ बजेदेखि जिल्लाभर विद्युत् सेवा बन्द भएको थियो ।
अवरुद्ध विद्युत् सेवा मर्मतका लागि आइतबारदेखि नै प्राविधिकको टोली प्रभावित क्षेत्रमा खटाइएको कार्यालयले जनाएको छ । अछामदेखि जिल्ला सदरमुकाम मार्तडीसम्म ३३ केभी राष्ट्रिय प्रसारण लाइन सञ्चालनमा छ ।
विद्युत् सेवा बन्द हुँदा सदरमुकाम मार्तडीसहित विभिन्न क्षेत्रका घरपरिवार अँध्यारोमा बस्न बाध्य भएका छन् । सरकारी तथा गैरसरकारी कार्यालयका सेवा प्रवाहसँगै विद्युत्बाट सञ्चालन हुने कामकाजसमेत प्रभावित भएका छन् ।
अवरुद्ध सडक र विद्युत् सेवा सुचारु गर्न बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला प्रभावित क्षेत्रमा खटिनुभएको छ । आइतबार बडीमालिका नगरपालिका-८ र ९ का विभिन्न स्थानमा पहिरो खस्दा दुई घर, चार गोठ, एक गाईगोठ तथा एक पक्की घरमा क्षति पुगेको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले अवरुद्ध सडक सुचारु गर्न राप्काबाट सडक विभागका दुईवटा मेसिन लगाएर मर्मत कार्य भइरहेको बताउनुभयो । विद्युत् सेवा सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका प्राविधिक तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको टोली खटिएको छ । रासस
