- त्रिशूली-१ को सुरुङमा थर्मल क्यामेरामार्फत खोजी ।
- विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा उद्धार टोली परिचालित ।
- प्रभावित क्षेत्रमा नौ हजार ३०० भन्दा बढी सैनिक खटिए ।
काठमाडौँ । भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङ र विद्युत् गृहमा फसेका तथा हराइरहेका व्यक्तिको खोज तथा उद्धार कार्य आज पनि जारी रह्यो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विदेशी विज्ञ तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोली खोजीमा खटिएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सुरक्षाकर्मी र आयोजनाका प्रतिनिधि रसुवागढी जलविद्युत् आयोजनाको पावरहाउस र ‘कन्ट्रोल रुम’सम्म पुगेर खोजी गरेका छन् । त्यस्तै, त्रिशूली-३ ‘ए’को पावरहाउस तथा टनेलमा सैनिक फौज उद्धार उपकरणसहित खोज तथा उद्धारमा निरन्तर खटिएको छ ।
त्रिशूली-३ ‘बी’मा उद्धारकर्ता अडिट-२ बाट प्रवेश गरी अडिट-१ बाट बाहिरिएका छन् । अडिट-२ टनेलबाट एक्साभेटर प्रवेश गर्न सक्ने गरी बाटो सफा गर्ने काम भइरहेको छ । हालसम्म त्यहाँ केही फेला नपरेको सेनाले जनाएको छ ।
चिलिमे जलविद्युत् आयोजनामा विदेशीसहितको संयुक्त टोलीले मिनी एक्साभेटर र पम्पको सहायताले लेदो फाल्ने काम गरिरहेको छ । हेलिकप्टरमार्फत स्याफ्रुबेँसीमा झारिएको एक्साभेटर टनेल क्षेत्रमा पुर्याउने कामसमेत भइरहेको छ ।
माथिल्लो त्रिशूली-१ मा विदेशीसहितको संयुक्त टोलीले थर्मल क्यामेरामार्फत सुरुङभित्र खोजी गरिरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो ।
यसैबीच, नुवाकोटको विदुर नगरपालिका-५, देवीघाटस्थित तादी नदीमा ‘एक्रो ब्रिज’ जडानको काम तीव्र पारिएको छ । सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माण गरिरहेको छ ।
सैनिक हेलिकप्टरमार्फत आज प्रभावित क्षेत्रबाट १३ जनाको उद्धार गरिएको छ । हालसम्म हेलिकप्टरमार्फत तीन हजार ९७५ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।
प्रभावित क्षेत्रको मैलुङदेखि स्याफ्रुबेँसीसम्म पैदल गस्ती गरी खोज तथा उद्धार कार्य भइरहेको छ । विपद् व्यवस्थापनका लागि रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासीपूर्वका प्रभावित क्षेत्रमा नौ हजार ३०० भन्दा बढी सैनिक परिचालित छन् । रासस
