- तुइन खोलामा पहिरो रोकथामका लागि सडक आंशिक बन्द ।
- भोलि बिहानदेखि काम सुरु गरिने ।
- निश्चित समयमा सवारीसाधन सञ्चालनका लागि सडक खुला गरिनेछ ।
रे समाचार/चितवन । तुइन खोलामा पहिरो रोकथाम तथा व्यवस्थापनको काम गर्न नारायणगढ-मुग्लिन सडक भोलि सोमबार बिहानदेखि आंशिक रूपमा बन्द गरिने भएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा आज जारी सूचनाअनुसार कृष्णभीरमा सडक मर्मतको काम भइरहेका बेला त्यसको सदुपयोग गर्दै तुइन खोला परियोजनाअन्तर्गत माटो कटानको काम गरिनेछ ।
कृष्णभीरको सडक मर्मत सम्पन्न भई सवारी आवागमन सञ्चालनमा नआएसम्म तुइन खोलामा काम जारी रहने सूचनामा जनाइएको छ । तुइन खोलामा पटक-पटक पहिरो जाने भएकाले सम्भावित रूपमा खस्न सक्ने माथिल्लो भागको माटो पन्छाउने तथा पहिरो व्यवस्थापनको काम गरिनेछ ।
सूचनाअनुसार कामका क्रममा समय-समयमा सवारीसाधन सञ्चालनका लागि सडक खुला गरिनेछ । नारायणगढ-मुग्लिन सडक बिहान ८ बजेदेखि ८ः३० बजेसम्म, १०ः३० बजेदेखि ११ बजेसम्म, दिउँसो १ बजेदेखि १ः३० बजेसम्म, ३ः५० देखि ४ बजेसम्म र साँझ ६ बजेपछि सञ्चालन गरिनेछ ।
यी समयबाहेक तुइन खोला क्षेत्रमा सवारीसाधन रोकेर काम गरिने सूचनामा उल्लेख छ ।
