- छिप्रेदहमा सुख्खा पहिरो खस्दा जाजरकोट-डोल्पा सडक अवरुद्ध ।
- प्रहरी र सम्बन्धित निकायको समन्वयमा सडक पुनः सञ्चालनमा ।
- सडकखण्डमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह ।
रे समाचार/जाजरकोट । भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्डमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ छिप्रेदहमा आज बिहान करिब साढे ८ बजेतिर सुख्खा पहिरो खसेपछि डोल्पा-जाजरकोट सडकखण्ड अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार पहिरो हटाएपछि सडक पुनः सञ्चालनमा आएको हो ।
प्रहरीका अनुसार पहिरोका कारण यातायात सेवा ठप्प हुँदा डोल्पाबाट बाहिरिने तथा भित्रिने सवारीसाधन छिप्रेदहमै रोकिएका थिए ।
सडक अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय करवगार्डबाट खटिएको प्रहरी टोलीले सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीले जानकारी दिनुभयो ।
सडक सञ्चालनमा आए पनि उक्त सडकखण्डमा पुनः पहिरो खस्न सक्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
