RayNewsDaily
नेपाललाई जलविज्ञान र मौसमसम्बन्धी सूचना निरन्तर दिने चीनको घोषणा
तस्बिरः नेपालस्थित चिनियाँ दूतावास
  • चीनले नेपालसँग जलविज्ञानसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने ।
  • नदी अवरोध र हिमतालबाट उत्पन्न जोखिमको सूचना पनि दिइने ।
  • मौसम पूर्वानुमान र पूर्वचेतावनीमा नेपाललाई सहयोग जारी ।

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ ।

उद्धार तथा विपद् राहत प्रयासमा सहयोग पुर्‍याउन यस्तो सूचना आदानप्रदान गरिने यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ । यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिमसम्बन्धी सूचनासमेत समेटिनेछन् ।

चीनको मौसमसम्बन्धी निकायले चीन-नेपाल केरुङ-रसुवा सीमानाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्वचेतावनी तथा प्रभावसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

विपद्लगत्तै चिनियाँ प्रशासनले नेपालको मौसम विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरेको थियो । नेपालको उद्धार तथा राहत कार्यका लागि मौसमसम्बन्धी सहयोगसमेत सक्रिय रूपमा उपलब्ध गराउँदै आएको चिनियाँ पक्षले जनाएको छ । रासस

 

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update