RayNewsDaily
भोटेकोशी बाढी : त्रिशूली-३ ‘ए’ मा खोज तथा उद्धार जारी
  • त्रिशूली-३ ‘ए’को सुरुङबाट दुई जनाको जीवितै उद्धार ।
  • लाङटाङ हाइड्रोको सुरुङमा दुई शव फेला ।
  • सात सैनिक र छ गैरसैनिक हेलिकप्टरबाट २९ जनाको उद्धार ।

काठमाडौँ । भोटेकोशी बाढीका कारण त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको खोज तथा उद्धार जारी छ । नेपाली सेनाका ७५, सशस्त्र प्रहरीका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोलीले आज सो सुरुङबाट दुई जनाको जीवितै उद्धार गरेको थियो ।

उद्धार गरिएका दुवै जनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको छ । खोज तथा उद्धारका क्रममा सोही स्थानबाट एक शव निकालिएको छ । थप खोज तथा उद्धार कार्य जारी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

त्यस्तै, त्रिशूली-३ ‘बी’मा सेनाका ८९, गैरसैनिक तीन जना र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय तथा निवास पहिचान गरेको छ । उक्त क्षेत्रमा पुग्न एक्साभेटरबाट बाटो खन्ने र माटो पन्छाउने काम भइरहेको छ । उद्धार टोली अडिट-१ बाट ४२६ मिटरभित्र प्रवेश गरेको छ ।

अडिट-१ बाट एक्साभेटर छिराउन अपरेटरसहित त्रिशूली-३ ‘ए’सँग लिङ्कअप गराउने काम भइरहेको सेनाले जनाएको छ ।

लाङटाङ हाइड्रोमा सेनाका २५ तथा दुई गैरसैनिकसहितको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी दुईवटा शव फेला पारेको छ । सो क्षेत्रमा खोज तथा उद्धार जारी छ ।

चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले जेनेरेटर र पम्पको सहायताले सुरुङभित्रको लेदो फाल्ने काम गरिरहेको छ । माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा १७ सैनिक र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले ‘र्‍याफ्ट’ र ‘बोट’ प्रयोग गरी खोजी गरिरहेको छ । टनेलमा रहेको पानी फाल्ने कामसमेत भइरहेको छ ।

देवीघाटमा पुल जडान हुँदै

देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि सेनाको इन्जिनियरिङ फौजबाट ५५ जनाको टोली खटिएको छ । टोलीले पुल जडानका लागि बेस निर्माण गरिरहेको छ ।

सो स्थानमा जडान गर्न गजुरीमा रहेको ‘एक्रो ब्रिज’का केही भाग त्रिशूली पुर्‍याइएको छ भने थप सामग्री ढुवानी भइरहेको सेनाले जनाएको छ ।

प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला र बस्तीमा चिकित्सकसहितको उद्धार टोलीले पैदल गस्ती गरिरहेको छ । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासीपूर्वका प्रभावित क्षेत्रमा नौ हजार ३०० भन्दा बढी फौज घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारमा क्रियाशील छन् ।

यसैबीच, सात सैनिक र छ गैरसैनिक हेलिकप्टरमार्फत आज प्रभावित क्षेत्रबाट २९ जनाको उद्धार गरिएको सेनाले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update