रे समाचार/काठमाण्डू । चीन सरकारले नेपाललाई प्रदान गरेको आपत्कालीन राहत सामग्रीको तेस्रो खेप चीनको जनमुक्ति सेना (PLA) को वायुसेनाको Y-20A मालवाहक विमानमार्फत नेपालको काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक आइपुगेको छ।

नेपाल पठाइएका चिनियाँ विज्ञहरूको चौथो टोलीका रूपमा १० जना फोरेन्सिक विशेषज्ञहरू पनि सोही विमानमार्फत काठमाण्डू आइपुगेका छन्। नेपालका लागि चीनका राजदूत महामहिम चाङ माओमिङ र नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री माननीय महावीर पुनले राहत सामग्री हस्तान्तरण समारोहमा सहभागिता जनाउँदै चिनियाँ विशेषज्ञहरूलाई स्वागत गर्नुभयो।
राहत सामग्रीमा नेपालमा तत्काल आवश्यक रहेका शव संरक्षणका लागि प्रयोग हुने शवगृह फ्रिजर, महामारी रोकथाम तथा नियन्त्रणसम्बन्धी सामग्री र दैनिक उपभोग्य वस्तुहरू लगायतका सामग्री रहेका छन्। चिनियाँ फोरेन्सिक विशेषज्ञहरूले नेपालमा विपद्का पीडितहरूको पहिचान प्रक्रियालाई अघि बढाउन सहयोग पुर्याउने उद्देश्यले तत्काल आफ्नो कार्य सुरु गर्नेछन्।
राहत सामग्रीको तेस्रो खेपमा विपद् उद्धार तथा राहत कार्यका लागि नेपाली पक्षले अत्यावश्यक रूपमा माग गरेका बेली ब्रिजहरू पनि समावेश छन्। पहिलो खेपअन्तर्गत पठाइएका बेली ब्रिजहरू जडान गर्न आवश्यक विशेष उपकरणहरू स्थलमार्ग हुँदै लिजी-नेचुङ सीमा नाकामा आइपुगेका छन् र ती सामग्री हस्तान्तरणको प्रक्रियामा रहेका छन्।
