RayNewsDaily
प्रधानसेनापति सिग्देलद्वारा भोटेकोशी बाढीको खोज तथा उद्धार कार्यको अनुगमन
  • प्रधानसेनापति सिग्देलद्वारा उद्धारको अनुगमन ।
  • सुरुङमा खोजी कार्य जारी ।
  • समन्वय र उच्च मनोबलका साथ उद्धार गर्न निर्देशन ।

रे समाचार/काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले भोटेकोशी बाढीपछि जारी खोज तथा उद्धार कार्यको स्थलगत अनुगमन गर्न आज रसुवा र नुवाकोट पुग्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डाका अनुसार प्रधानसेनापति सिग्देलले बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा भइरहेको खोज तथा उद्धार कार्यको अनुगमन गर्नुभएको हो ।

भोटेकोशी बाढीपछि नेपाली सेनाले रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्चालन र आपत्कालीन उपचारलगायतका काम गर्दै आएको छ । विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा नेपाली सेनाको नेतृत्वमा स्वदेशी तथा विदेशी विज्ञ टोलीसमेत परिचालन गरी खोजी भइरहेको छ ।

Tunnel-uddar-1788421975.jpg
प्रधानसेनापति सिग्देलले सुरुङका साथै अन्य प्रभावित क्षेत्रको समेत अवलोकन गर्नुभएको छ । उहाँले सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै उच्च मनोबलका साथ खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन निर्देशन दिनुभएको जङ्गी अड्डाले जनाएको छ ।

भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सेनाले प्रभावित क्षेत्रमा निरन्तर खोज तथा उद्धार गरिरहेको छ । सुरुङभित्र हिलो, पानी र ढुङ्गा थुप्रिएका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको अवस्थामा सेनाले उपकरण तथा विशेषज्ञ टोली परिचालन गरी खोजीलाई निरन्तरता दिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update