- भोटेकोशी बाढीमा १,२५२ शव फेला ।
- ४,८७५ जना अझै बेपत्ता ।
- ३,१२६ जना होल्डिङ सेन्टरमा ।
काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार २५२ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार बाढी प्रभावित विभिन्न जिल्लासहित भारतमा समेत ती शव फेला परेका हुन् ।
नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा १९० र भारतमा १८ वटा शव फेला परेका छन् । भारतको सीमावर्ती क्षेत्रमा फेला परेका शव नवलपरासी पश्चिम जिल्लामा बुझाइएको छ ।
सङ्कलन गरिएका शवमध्ये हालसम्म ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो ।
फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २१३ महिला, ३१४ पुरुष र ३७० जनाको लिङ्ग नखुलेको गरी जम्मा ८९७ वटा शव माटोमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।
पहिचान नभएका ९५९ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म सात हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ ।
हालसम्म बेपत्ता भएका चार हजार ८७५ जनाको खोजी भइरहेको छ । नुवाकोट र रसुवालगायत जिल्लामा रहेका ‘होल्डिङ सेन्टर’मा तीन हजार १२६ जनाले आश्रय लिइरहेका छन् । रासस
