- लाङ्टाङ र चिलिमेमा सुरुङ उद्धार जारी ।
- ११ हजार ९९३ जनाको उद्धार ।
- करिब ३ हजार ९०० जना अझै बेपत्ता ।
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीपछि नदीको बहाव क्षेत्रमा रहेका सुरुङमा फसेका मानिसको खोज तथा उद्धार कार्य जारी छ । भारतीय सुरुङ उद्धार टोलीले नेपाली टोलीसँग समन्वय गरी लाङ्टाङ र चिलिमेमा काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सुरुङ खोल्ने दिशामा केही काम भए पनि भित्री भाग हिलो र ठूला ढुङ्गाले भरिएकाले थप काम गर्नुपर्ने अवस्था रहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।
“चिनियाँ सुरुङ उद्धार टोलीलाई अपर त्रिशूली-३ ‘ए’ मा परिचालन गरिएको छ र उहाँहरूले नेपाली उद्धार टोलीसँग मिलेर काम गरिरहनुभएको छ । उहाँहरूले सुरुङको केही भाग खोलिसक्नुभएको छ”, भोटेकोशी बाढीसम्बन्धी आज मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा उहाँले भन्नुभयो ।
कोरियाली सुरुङ उद्धार टोलीले पनि नेपाली टोलीसँग मिलेर अपर त्रिशूली-१ को सुरुङ खोल्ने काम गरिरहेको उहाँले जानकारी दिनुभयो । खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन गणतन्त्र कोरियाबाट थप सहयोग तथा आवश्यक सामग्री आउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, १९ सदस्यीय भारतीय फरेन्सिक टोलीले नेपाल प्रहरीसँगको सहकार्यमा डिएनए नमुना विश्लेषण गरिरहेको छ । प्रवक्ता क्षेत्रीका अनुसार चीनको पाँच सदस्यीय विशेष फरेन्सिक टोली पनि नेपाल आएर डिएनए नमुना प्रशोधन तथा विश्लेषणमा सहभागी भएको छ ।
यस प्रक्रियालाई तीव्र बनाउन सिङ्गापुरबाट छ सदस्यीय ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन टिम’ पनि नेपाल आएको छ । थप १३ सदस्य डिएनए परीक्षण उपकरणसहित आज आउँदैछन् । उच्च क्षमताका ड्रोन तथा अन्य आवश्यक सामग्रीसहित थप सदस्यहरू भोलि टोलीमा सहभागी हुने मन्त्रालयले जनाएको छ ।
आवश्यक उपकरण तथा साधनसहितको थप कोरियाली फरेन्सिक टोली पनि उद्धार कार्यमा सहभागी भएको छ ।
सुरक्षा निकाय, सरकारी निकाय, चिकित्सा तथा आपत्कालीन प्रतिक्रिया टोली र अन्य सम्बन्धित निकाय प्रभावित क्षेत्रमा एकसाथ काम गरिरहेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एकीकृत टोलीले प्रभावित क्षेत्र तथा आसपासमा खोज, उद्धार, सुरक्षित स्थानान्तरण र राहत कार्यलाई निरन्तरता दिइरहेको छ ।
पछिल्लो जानकारीअनुसार एक हजार ११४ वटा शव फेला परेका छन् भने करिब तीन हजार ९०० जना अझै बेपत्ता छन् । हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३०० भन्दा बढी विदेशी नागरिक रहेका छन् । तीमध्ये पाँच जना सम्पर्कमा रही सुरक्षित अवस्थामा रहेको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । त्यस्तै, ३४ देशका करिब ५९० जना विदेशी नागरिक अझै बेपत्ता छन् ।
दुई हजार ५०० तीर्थयात्री फर्किए
“विपद्को समयमा कैलाश पर्वततर्फ जाने तथा त्यहाँबाट फर्कने क्रममा रहेका अनुमानित तीन हजार जनामध्ये करिब दुई हजार ५०० जना, अधिकांश तीर्थयात्री, हिल्सा र तातोपानी हुँदै फर्किसकेका छन् । बाँकीलाई पनि फर्कन सहजीकरण गरिएको छ र केही जना ल्हासाबाट हवाईमार्ग हुँदै फर्किरहेका छन्”, उहाँले भन्नुभयो ।
मन्त्रालयका अनुसार करिब एक हजार ५०० नेपाली नागरिक हाल केरुङमा रहेका छन् । चाँडै फर्कन चाहने उनीहरूका लागि चिनियाँ पक्षसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
केरुङमा रहेका १७६ नेपाली ट्रक तथा कन्टेनरको आवागमन सहज बनाउन उपयुक्त सीमा नाकामार्फत पुनःरुट निर्धारण गर्ने विषयमा चिनियाँ अधिकारीसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । त्यस दिन चिनियाँ सीमातर्फ करिब १०० नेपाली नागरिक बेपत्ता रहेको पनि मन्त्रालयले जनाएको छ । रासस
