RayNewsDaily
भोटेकोशी बाढीपछि तीन भाइको प्रतीक्षामा यादव परिवार

सुधा देव/सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका-८ काचनका रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर फर्कने प्रतीक्षामा हुनुहुन्छ ।  रसुवाको भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका भाइहरू घर आउने झिनो आशामा परिवार पर्खिरहेको उहाँले बताउनुभयो ।

रामकुमारका तीनै भाइ रसुवास्थित अपरत्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत हुनुहुन्थ्यो। माइलो ३५ वर्षीय शिवकुमार यादव सुपरभाइजर, साइँलो ३१ वर्षीय देवकुमार यादव इन्जिनियर र कान्छो २५ वर्षीय सचित यादव ओभरसियर पदमा कार्यरत हुनुहुन्थ्यो ।

“घरमा चुलो नबलेको एक हप्ता भयो, भाइहरूकै सम्झनाले सताइरहेको छ,” रामकुमारले भन्नुभयो, “भाइहरू अहिलेसम्म सम्पर्कमा नआए पनि झिनो आशामा उनीहरू घर आउने प्रतीक्षामा छौँ ।”

स्थानीय विनोद साहका अनुसार ७० वर्षीया आमा छिनछिनमा ‘छोरा ल्याइदेऊ, छोराहरूबिना कसरी बस्नु’ भन्दै मुर्छित हुने गर्नुभएको छ । सम्पर्कविहीन तीनै भाइका पत्नीहरूको अवस्था पनि उस्तै दुःखद् छ। उहाँहरू श्रीमान्को अवस्थाबारे खबर आउने आशामा पर्खिरहनुभएको छ ।

माइलो छोरा शिवकुमारको विवाह भएको पाँच वर्ष भएको छ। उहाँका दुई सन्तान छन् । साइँलो देवकुमारको यही वैशाखमा विवाह भएको हो भने कान्छो सचित अविवाहित हुनुहुन्थ्यो । तीनै छोरा रसुवामा काम गर्न थालेपछि यादव परिवार सुखी थियो ।

बाढी आएको दिन बिहान शिवकुमारकी पत्नीसँग कुराकानी भएको थियो। त्यसबेला बाढी आउने कुनै जानकारी थिएन । त्यसपछि एकाएक उहाँ सम्पर्कविहीन हुनुभएको परिवारले जनाएको छ ।

बुबा लालबहादुर छोराहरूको खोजीका लागि रसुवा गएको चार दिन भइसकेको छ। तर, अहिलेसम्म छोराहरूसँग कुनै सम्पर्क हुन सकेको छैन ।

रामकुमारको परिवारजस्तै विष्णुपुर गाउँपालिका-१ खुरहुरियाका ३६ वर्षीय इन्जिनियर अजयकुमार यादवको परिवार पनि पीडामा छ । रसुवाको उत्तरगया गाउँपालिका-५ स्थित नीलकण्ठ माध्यमिक विद्यालय बोगटीटारमा शिक्षकका रूपमा कार्यरत अजय बाढी आएको दिनदेखि सम्पर्कविहीन हुनुहुन्छ ।

अजय सोही क्षेत्रमा डेरा लिएर बस्दै आउनुभएको थियो । बाढीपछि उहाँ सम्पर्कमा नआएपछि घरमा सन्नाटा छाएको छ । आमाबुबा छिनछिनमा मुर्छित हुने गरेको परिवारले जनाएको छ ।

अजयको खोजीका लागि उहाँका मामाका छोरा श्यामसुन्दर यादव रसुवासम्म पुग्नुभएको थियो। तर, उहाँको कुनै पत्तो लाग्न सकेको छैन । 

त्यसैगरी रसुवाको मेलुङ्ग-५ स्थित एमभी हाइड्रोपावरमा कार्यरत सुरुङ्गा नगरपालिका-२ का सरोज चौधरी पनि भोटेकोशी बाढीपछि सम्पर्कविहीन हुनुहुन्छ । उहाँको अवस्थाबारे यथाशीघ्र जानकारी सार्वजनिक गर्न परिवारले सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।

सुरुङ्गा नगरपालिका-७ बसानपट्टीका दुर्गानन्द रामकी पत्नी गीता राम र तीन वर्षीय छोरा दिवासकुमार राम पनि बाढीपछि सम्पर्कविहीन हुनुहुन्छ । दुर्गानन्द भने सकुशल हुनुहुन्छ ।

दुर्गानन्द करिब तीन वर्षअघि मोटरसाइकल ग्यारेजमा काम गर्न पत्नी र छोरासहित नुवाकोटको त्रिशूली बजारमा बस्दै आउनुभएको थियो ।

यता नुवाकोटको हाइड्रोपावरमा कामदारका रूपमा कार्यरत खडक नगरपालिका-५ रञ्जितपुरका २८ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको पुष्टि भएको छ । उहाँको शव गण्डकी अस्पताल, पोखरामा पहिचान गरिएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले बताउनुभयो ।

“बेपत्ताको खोजीकार्य जारी छ। कुनै सूचना आए पीडित परिवारलाई तत्काल जानकारी दिन्छौँ,” उहाँले भन्नुभयो ।

बाढीका कारण बोदेबर्साइन नगरपालिका आसपासका झन्डै ४८ जना अहिलेसम्म सम्पर्कमा आउन नसकेपछि उनीहरूका परिवार पीडामा छन्। सुरुङ तथा टनेलमा फसेकाहरूको तत्काल उद्धार गर्न पीडित परिवारले सरकारसँग माग गरेका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालयको मंगलबारको तथ्याङ्कअनुसार रसुवा बाढीमा १६४ जना अझै सम्पर्कविहीन छन् । १९५ जना बेपत्ता भएकामा ३० जना सम्पर्कमा आइसकेका छन् । एक जनाको मृत्यु भएको पुष्टि भएको छ । सप्तरीका ४९ जनामध्ये एक जना सम्पर्कमा आएका छन् भने एक जनाको मृत्यु भएको छ ।

भोटेकोशी नदीमा आएको बाढीले जनधनको क्षति पुर्‍याएपछि एक जनाको मृत्यु र ४८ जना सम्पर्कविहीन रहेको घटनाले सिङ्गो सप्तरी शोकमा डुबेको छ । रासस

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update