RayNewsDaily
गुठी संस्थानको अध्यक्षमा डा. गोविन्द टण्डन नियुक्त

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुठी संस्थान सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा. गोविन्द टण्डनलाई नियुक्त गरेको छ ।

गुठी संस्थान ऐन, २०३३ को दफा ९ को उपदफा १ को खण्ड (क) बमोजिम मन्त्री प्रतिभा रावलले उहाँलाई तीन वर्षका लागि अध्यक्षमा नियुक्त गर्नुभएको मन्त्रालयका सचिव मदन भुजेलले जानकारी दिनुभयो। नवनियुक्त अध्यक्ष टण्डनले संस्थानको केन्द्रीय कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।

पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन विषयमा विद्यावारिधि गर्नुभएका टण्डनले गुठी परम्परा, संस्कृति र इतिहाससम्बन्धी पुस्तकसमेत लेख्नुभएको छ । उहाँका ‘नेपालमा गुठी व्यवस्था’ र ‘गुठी जग्गा हो कि सम्पदा ?’ गुठीसँग सम्बन्धित पुस्तक हुन् ।

टण्डनले यसअघि पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव तथा कोषाध्यक्ष र गुठी संस्थानको विद्वत् परिषद्को दुई पटक अध्यक्षलगायत जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

अध्यक्षमा नियुक्त भएपछि रासससँग कुरा गर्दै उहाँले २०३३ सालमा बनेको गुठी संस्थान ऐन अझै संशोधन र परिमार्जन नभएकाले त्यस विषयमा काम गर्ने बताउनुभयो । गुठीको जग्गा काम नलाग्ने भन्ने धारणा आम मानिसमा रहेकाले यसको महत्व बुझाउने कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

गुठीको जग्गा कति छ भन्ने यकिन अभिलेखसमेत नभएकाले त्यसको अभिलेख तयार गरी डिजिटाइज गर्ने उहाँले जानकारी दिनुभयो । हरेक मठमन्दिरका नाममा कति गुठी जग्गा छ भन्ने विवरणसमेत तयार गरिने उहाँको भनाइ छ ।

विभिन्न मितिमा गुठी जग्गा रैकर गर्ने क्रममा सरकारले संस्थानलाई रु ३० अर्ब दिन बाँकी रहेको उल्लेख गर्दै अध्यक्ष टण्डनले उक्त रकम किस्ताबन्दीमा माग गरी मठमन्दिर व्यवस्थित गर्ने काममा लगाउने बताउनुभयो ।

संस्थानमा इन्जिनियर, ओभरसियरलगायत प्राविधिक कर्मचारीको थप व्यवस्था गरी मठमन्दिर पुनर्निर्माण तथा जीर्णोद्धारका कामलाई चुस्त बनाउने उहाँले बताउनुभयो। मूर्त र अमूर्त सम्पदा संरक्षणको मुख्य जिम्मेवारी रहेको संस्थानलाई सोहीअनुसार विकास गर्ने उहाँको योजना छ ।

अध्यक्ष पदमा नियुक्त भएबापत आफूले कुनै सेवा, सुविधा नलिने घोषणा पनि टण्डनले गर्नुभएको छ । एक वर्षको सेवा, सुविधा रसुवा बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने र बाँकी दुई वर्षको सेवा, सुविधा सामाजिक काममा लगाउने उहाँले पदबहालीका क्रममा जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update