RayNewsDaily
बाढी प्रभावितका लागि इप्पानद्वारा १३ करोड सहयोग
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)ले भोटेकोशी नदीमा आएको बाढी प्रभावितहरुको उद्धार राहतको लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषका लागि मङ्गलबार उर्जा मन्त्रालयमा रु. १३ करोड १ रुपैयाँको चेक ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गर्नुहुँदै इप्पानका अध्यक्ष मोहनकुमार डाँगीसहितका इप्पानका पदाधिकारी । तस्बिरः प्रदिपराज वन्त/रासस
  • भोटेकोशी बाढी प्रभावितका लागि इप्पानद्वारा १३ करोड सहयोग ।
  • बाढीबाट १३ जलविद्युत् आयोजना प्रभावित भएको इप्पानको भनाइ ।
  • उद्धार, राहत र पुनःनिर्माणमा सहयोग रकम प्रयोग गरिने ।

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आबद्ध ऊर्जा उद्यमीहरूले भोटेकोशी नदीको बाढी प्रभावितको उद्धार, राहत तथा पुनःनिर्माणका लागि रु १३ करोड बराबरको सहयोग गरेका छन् ।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले आज सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित कार्यक्रममा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

ऊर्जा उद्यमीहरूले आ-आफ्नो तर्फबाट उक्त रकम सहयोग गरेका हुन् । कार्यक्रममा मन्त्री श्रेष्ठले जलवायु परिवर्तनका कारण जलविद्युत् आयोजनाले भौगोलिक तथा विपद्का समस्या भोग्नुपरेकाले आगामी दिनमा जलवायु परिवर्तनमैत्री संरचना निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले विपद्का बेला राज्यलाई आर्थिक सहयोग गरेर सङ्कटको घडीमा साथ दिएको भावना विकास गर्न ऊर्जा उद्यमीहरू सफल भएको बताउनुभयो ।

इप्पानका अध्यक्ष डाँगीले ऊर्जा उद्यमीहरूले सङ्कटको घडीमा राज्यको विपद् कोषमा आर्थिक सहयोग गरेको बताउनुभयो । उहाँले भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट १३ वटा जलविद्युत् आयोजना प्रभावित भएको बताउँदै पीडितको घाउमा मलम लगाउने प्रयास गरिएको उल्लेख गर्नुभयो ।

मन्त्रालयका सचिव सरिता दवाडीले ऊर्जा उद्यमीहरू आफैँ सङ्कटमा परेको अवस्थामा आर्थिक सहयोग गर्नु सराहनीय काम भएको बताउनुभयो । इप्पानका निवर्तमान अध्यक्ष तथा ऊर्जामन्त्रीका सल्लाहकार गणेश कार्कीले बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको उद्धारका लागि इप्पानले प्राविधिक सहयोग गर्दै आएको बताउनुभयो ।

राहत कोषमा सहयोग गर्नेहरूमध्ये मोहनविक्रम कार्की समूहले रु एक करोड ६५ लाख, हिमप्रसाद पाठक तथा समूहले रु एक करोड ५१ लाख र पुष्पज्योति ढुङ्गाना तथा समूहले रु एक करोड सात लाख ७७ हजार ७७५ सहयोग गरेका छन् ।

बटु लामिछाने तथा गणेश कार्की समूहले रु ८७ लाख ७७ हजार ७७७, इशा श्रेष्ठ समूहले रु ६५ लाख, बुटवल पावर कम्पनी समूह तथा कम्पनीहरूले रु ५१ लाख ४१ हजार ९८६, उत्तमब्लोन लामा तथा समूहले रु ५१ लाख, माउन्टेन इनर्जी नेपालले रु ५१ लाख, सुमन कर्माचार्य तथा समूहले रु ५० लाख र अजयबल्लभ पन्त तथा समूहले रु ५० लाख सहयोग गरेका छन् ।

त्यस्तै, टिएन आचार्य तथा समूहले रु २६ लाख, सन्तोषराज नेपाल तथा समूहले रु २५ लाख २५ हजार, मोहनकुमार डाँगी तथा समूहले रु २५ लाख, दिनेश गुरुङ तथा समूहले रु २५ लाख, अनुप आचार्य तथा समूहले रु २५ लाख तथा साङ्ग्रिला ऊर्जा लिमिटेड र घलेम्दी हाइड्रो लिमिटेडले रु २५ लाख सहयोग गरेका छन् ।

रघुनाथ पुरी तथा समूह (गोरक्ष हाइड्रो) ले रु २५ लाख, उमेश श्रेष्ठ तथा समूह (कालङ्गा ग्रुप) ले रु २० लाख ७० हजार, कदम केसी तथा समूहले रु २० लाख १० हजार, अभिज्ञा मल्ल तथा समूहले रु २० लाख १० हजार, भुषण गुरागाईं तथा समूह (न्यादी ग्रुप) ले रु २० लाख तथा बिजी ग्रुप र हाइड्रो सोलुसनले रु १५ लाख सहयोग गरेका छन् ।

बलराम खतिवडा तथा समूहले रु १५ लाख, गोपाल न्यूरे तथा समूह (संयुक्त ऊर्जा र चितवन इनर्जी) ले रु ११ लाख ११ हजार ११०, सुभास साङ्घाई र श्रीधर न्यौपाने (ग्रिन भेञ्चर्स) ले रु ११ लाख, विक्रम विष्ट तथा समूह (इसुवा इनर्जी प्रालि) ले रु १० लाख ५५५, बाबुराम थापा (अभियान समूह) ले रु सात लाख ५१ हजार तथा नारायण कँडेल तथा समूहले रु पाँच लाख ५५ हजार ५५५ सहयोग गरेका छन् ।

केशवबहादुर रायमाझी तथा समूह, आत्माराम घिमिरे तथा समूह (लिबर्टी इनर्जी), अर्जुन गौतम (अपर हेवा) ले जनही रु पाँच लाख ५५ हजार ५५५ तथा सोमनाथ कँडेल तथा समूहले रु पाँच लाख नौ हजार ९९९ सहयोग गरेका छन् ।

त्यस्तै, कृष्णप्रसाद घिमिरे तथा समूह (विकास हाइड्रो) ले रु पाँच लाख पाँच हजार ५५५, प्रकाश दुलाल तथा समूहले रु पाँच लाख पाँच हजार, सुमन जोशी तथा समूह, जगदिश शिवाकोटी तथा समूह, मकरीगाड हाइड्रोपावर लिमिटेड, दीपक पौडेल (सानीभेरी हाइड्रो), रिडी पावर तथा समूह, नर्थ समिट हाइड्रो लिमिटेड र सुपरहेवा पावर कम्पनी लिमिटेडले जनही रु पाँच लाख सहयोग गरेका छन् ।

अपोलो हाइड्रोपावर लिमिटेडले रु तीन लाख, भिजन टेस्ला पावर प्रालिले रु दुई लाख, प्रतिमा ज्ञवाली तथा समूह र भरत खत्री तथा समूहले जनही रु एक लाख, चिर्खवा हाइड्रोपावर तथा निको इनर्जीले रु एक लाख तथा चम्पावती हाइड्रोपावर लिमिटेडले रु ५० हजार सहयोग गरेका छन् ।

इप्पान दैवीप्रकोप उद्धार कोषले रु छ लाख ३२ हजार २३ प्रधानमन्त्री दैवीप्रकोप तथा उद्धार कोषमा सहयोग गरेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १५:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update