RayNewsDaily
बाढीले बिजुली काटेपछि धुन्चेमा जेनेरेटर, निःशुल्क मोबाइल चार्जले जोड्यो आफन्तसँग सम्पर्क

सरस्वती न्यौपाने/रसुवा । भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण पाँच दिनदेखि विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्ला सदरमुकाम धुन्चेमा मोबाइल चार्ज गर्न जेनेरेटर ल्याइएको छ ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को सहयोगमा नेपाल रेडक्रस सोसाइटीले जेनेरेटर ल्याएर निःशुल्क मोबाइल चार्ज गर्ने व्यवस्था मिलाएको हो ।

विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीयवासीसँगै धुन्चेमा रहेका बाढीपीडित र तीर्थालु आफन्त तथा बाहिरी संसारसँगको सम्पर्कबाट विच्छेद भएका थिए । मोबाइल चार्जको व्यवस्था गर्न नेपाल रेडक्रस सोसाइटी रसुवा शाखा र तिलगङ्गा आँखा केन्द्रले संयुक्त पहल गरेका थिए ।

जेनेरेटरबाट अहिले एकैपटक एक सयभन्दा बढीले मोबाइल चार्ज गरिरहेको नेपाल रेडक्रसले जनाएको छ । मोबाइल चार्ज गर्न पाएपछि टाढा रहेका आफन्तलाई ‘म सुरक्षित छु’ भन्ने सन्देश पठाउन सहज भएको छ ।

सदरमुकाममा निःशुल्क मोबाइल चार्ज गर्ने सुविधा पाएपछि स्थानीयवासी तथा टाढाटाढाबाट आएका सेवाग्राहीलाई राहत मिलेको छ । जिल्लावासीले आफन्तसँग पुनः सम्पर्क स्थापित गर्न पाएका छन् ।

एक बाढीप्रभावितले भन्नुभयो, “फोनकलले टुटेको आशालाई जोडेको छ, चिन्ताले भरिएका मनलाई सान्त्वना दिएको छ ।”

बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालनका लागि प्राविधिक टोली खटिएको र चाँडै सेवा सुचारु गराउन पहल भइरहेको जनाइएको छ । रासस

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १३:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update