RayNewsDaily
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

प्रकाश सिलवाल/काठमाडौँ । एकाएक उर्लिएको भोटेकोशी बाढी धेरैका लागि जीवनकै त्रासदीपूर्ण दिन बन्यो । घर, भवन, सडक, पुललगायत संरचना बगाउँदै आएको बाढीबाट ज्यान जोगाएर सुरक्षित स्थानमा पुगेकाहरूको आँखामा अझै त्यस दिनको भयावह दृश्य घुमिरहेको छ ।

भदौ १० गते बुधबार आएको बाढीमा कैयौँ आफन्त, साथीभाइ र सहकर्मी बेपत्ता भए । ज्यान जोगिए पनि त्यस दिनको त्रास र पीडा बाँचेकाहरूका लागि भुल्न सहज छैन ।

रसुवाको मैलुङ जलविद्युत् आयोजनामा कार्यरत प्राविधिक कर्मचारी शिव गिरीसहित सात जनाले बाढी आएपछि भागेर ज्यान जोगाए । उपचारका क्रममा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहनुभएका गिरीका अनुसार बाढीको बेग बढ्न थालेपछि उहाँहरू आयोजनाको क्याम्पबाट माथितिर उक्लिनुभयो ।

केही समयमै तलतिरका घर, बस्ती र संरचना बाढीमा डुब्न थाले । आफ्नै आँखाअघि साथीहरू बाढीमा बगे । नजिकका घरगाउँ डुबे । गिरीका काकाको छोरा पनि बाढीमा बेपत्ता भए ।

“हेर्दाहेर्दै कति साथीहरू बगेर बेपत्ता भए । नजिकका घरगाउँ नै डुबे, मेरा काकाको छोरा (भाइ) बग्यो”, खुइँय गर्दै गिरीले सुनाउनुभयो ।

दाङको घोराहीबाट रोजगारीका लागि रसुवा पुग्नुभएका गिरीका लागि त्यो दिन अभिशाप बन्यो । बाढीबाट भागेर माथितिर लागे पनि तत्काल कुनै गाउँ वा बस्ती भेटिएन । भोक र प्यासले सताइरहेको थियो । सुरक्षित स्थानको खोजीमा जङ्गलको बाटो हुँदै निरन्तर उकालो चढ्दा पनि बस्ती भेटिएन ।

“रातिसम्म करिब १२ घन्टा हिँडेर एउटा ओढारमा पुगेर बस्यौँ”, गिरीले भन्नुभयो ।

टिमुरे र धुन्चेतिर जान नसकेपछि उहाँहरूको टोलीले ज्यान जोगाउन जङ्गलको बाटो रोजेको थियो । भाग्ने क्रममा क्याम्पमा रहेको एउटा कुकुरले पनि उहाँहरूको साथ छाडेन । मानवीय त्रासदीबीच त्यो कुकुरको साथसमेत उहाँहरूका लागि सम्झनायोग्य बन्यो ।

ओढारमा बसेको भोलिपल्ट आयोजनास्थलमा झरेर आफूहरू विस्थापित भएको र उद्धारका लागि खबर गरेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उहाँहरूलाई उद्धार गरी काठमाडौँ ल्याइएको गिरीले बताउनुभयो ।

उहाँका अनुसार सुरक्षित ठानिएको क्याम्पमा आयोजनाका कर्मचारी बस्दै आएका थिए । त्यही क्याम्पसमेत बाढीले बगाएपछि बाढीको विनाशकारी रूप कति भयावह थियो भन्ने अनुमान गर्न सकिन्छ ।

पूर्वसूचना पाए पनि जोखिमको आँकलन भएन

रसुवाकै त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाका कर्मचारी तथा रसुवा निवासी चिप्पु दोर्जे तामाङ बाढी आएको दिन काठमाडौँमै हुनुहुन्थ्यो । आयोजनाको सिसी क्यामराबाट आएका दृश्य र सन्देश हेर्दै उहाँ घटनाक्रमबारे जानकारी लिइरहनुभएको थियो ।

बाढी आउन सक्ने पूर्वसूचना प्राप्त भए पनि कतिपयले त्यसको सम्भावित जोखिमलाई गम्भीररूपमा नलिएको उहाँको अनुभव छ ।

“मान्छेले यति माथिसम्म त के बाढी आउला र भनेर कम आँके”, तामाङले भन्नुभयो, “कतिपय भागिसकेका मानिस पनि फर्किएर बाढी हेर्न थाले । बाढीको भयावह रूप देख्न पुगेका केही मानिस भिडियो खिचिरहेका थिए । कोही पौडी खेलेर ज्यान जोगाउन सफल भए । हेर्दाहेर्दै धेरैलाई बगायो ।”

घटनास्थलमा ठूलो बाढी आउँदैछ भन्ने सन्देश समयमै प्रवाह गरी मानिसलाई सुरक्षित स्थानतर्फ सार्न सकिएको भए क्षति कम गर्न सकिने उहाँको बुझाइ छ ।

तामाङका अनुसार भन्सारको ११ तले भवनसमेत बाढीले ढालेको सूचना समयमै सबैसम्म पुग्न सकेन ।

“११ तलाको भन्सारको भवन ढालिसक्यो भन्ने सन्देशचाहिँ प्रवाह भएन । त्यो खालको खतराको पूर्वसूचना भएको भए मान्छेहरू थप सचेत भएर सुरक्षित स्थानमा जान्थे होलान्”, उहाँले भन्नुभयो ।

ज्यान जोगिए पनि सहकर्मीको पर्खाइ

भोटेकोशी बाढीबाट ज्यान जोगाएकाहरूका लागि जीवन अझै सामान्य अवस्थामा फर्किन सकेको छैन । उनीहरू बाढीबाट बाँचेका छन्, तर आफ्ना सहकर्मी, आफन्त र साथीहरूको अवस्थाबारे अनिश्चित छन् ।

मैलुङ जलविद्युत् आयोजनामा कार्यरत मेघबहादुर गुरुङ बाढीपछि बेपत्ता हुनुहुन्छ । उहाँको परिवार अस्पतालदेखि सम्भावित खोजीस्थलसम्म आफन्तको अवस्थाबारे खबर पर्खिरहेको छ ।

मेघबहादुरकी श्रीमती जयन्ती गुरुङ घाइतेको उपचार भएका अस्पताल र सूचना पाउने सम्भावित स्थलमा पुगेर श्रीमान्को खोजीको प्रतीक्षामा हुनुहुन्छ ।

“म के गरौँ, कसरी सम्हालिऊँ ?” उहाँको प्रश्नमा श्रीमान्को पर्खाइ, परिवारको चिन्ता र भविष्यको अन्योल एकैपटक झल्किन्छ ।

बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारका लागि अहिले ‘कि सास, कि लास’ को आशा मात्र बाँकी छ । आफन्त फर्किएर आउने आशा अझै मरेको छैन । तर दिन बित्दै जाँदा प्रतीक्षा झन् पीडादायी बन्दै गएको छ । रासस

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १३:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update