RayNewsDaily
युएईद्वारा रसुवा बाढी प्रभावितका लागि १ करोड डलर सहयोग

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १० मिलियन (एक करोड) अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीसँग आज प्राधिकरणको कार्यालयमा भएको भेटमा युएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको हो ।

आवश्यक सामग्रीबारे जानकारी

युएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक सामग्रीबारे प्राधिकरणसँग जानकारी लिएको थियो । प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले अस्थायी पुल, पानी शुद्धीकरण तथा सरसफाइका सामग्री, ठूला परिवारका लागि पाल, चार्जिङ सुविधासहितका पोर्टेबल बत्ती, जेनेरेटर, सोलार प्यानल, स्याटेलाइट फोन र वाकीटकीलगायत सामग्री आवश्यक रहेको जानकारी गराउनुभएको थियो ।

प्राधिकरणले प्राथमिकता र आवश्यकताबारे जानकारी गराएपछि युएईको टोलीले सोहीअनुसार सहयोग गर्न तयार रहेको जनाएको प्राधिकरणले जनाएको छ ।

भेटमा युएई एडका अन्तरराष्ट्रिय सहायता निर्देशक डा अहमद अल मन्सौरी, सहायता तथा स्थिरीकरण विशेषज्ञ मोहम्मद सलेम अल शाम्सी, मानवीय सहायता प्रतिक्रिया संयोजक सलेम हमेद अल नुआइमीलगायत सहभागी हुनुहुन्थ्यो ।

नेपाल र युएईबीच लामो समयदेखि कूटनीतिक सम्बन्ध रहँदै आएको छ । दुई देशबीच श्रम, व्यापार, लगानी तथा मानवीय सहयोगका क्षेत्रमा सहकार्य हुँदै आएको छ । रासस

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update