RayNewsDaily
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

रे समाचार/काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली-३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि सुरक्षाफौज र विशेषज्ञ टोलीको प्रयास जारी छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली तथा विशेषज्ञ टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत सामग्री प्रयोग गरी सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि सुरक्षाफौजले भदौ १२ गतेदेखि निरन्तर प्रयास गरिरहेको छ । गएराति त्यस क्षेत्रमा वर्षा हुनुका साथै भोटेकोशीमा बाढी बढेपछि उद्धार कार्य केही समय रोकिएको थियो ।

बाढीको बहाव कम भएसँगै उद्धार कार्य पुनः सुरु गरिएको सेनाले जनाएको छ । उद्धार टोलीमा विशेषज्ञसहित ९३ जना संलग्न छन् ।

प्रभावित जिल्लामा करिब आठ हजार ४०० भन्दा बढी फौज खटिएर समन्वयात्मक रूपमा काम गरिरहेको सेनाले जनाएको छ । सेनाका अनुसार आज बिहान ११ः०० बजेसम्म टिमुरे, धुञ्चे र हाकुबेँसी इलाकाबाट चार चिनियाँ नागरिकसहित १८३ जनाको उद्धार गरिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update