RayNewsDaily
भोटेकोशी बाढीबाट प्रभावित १ हजार ४ सय ७३ जनाको उद्धार , ५५३ जनाको शव फेला पर्यो  

काठमाण्डू । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५३ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट अहिलेसम्म ५५३ जनाको शव फेला परेको हो ।    
    
 प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार शुक्रबार साँझसम्ममा रसुवामा १३, धादिङमा ४०, तनहुँमा ३१, नुवाकोटमा ३८, गोरखामा ४७, चितवनमा २२२, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ ।    
    
१ हजार ४७३ जनाको उद्धार    
    
 नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ४७३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेका छन् ।    
    
 बाढीमा परी घाइते भएकालाई विभिन्न स्थानबाट उद्धार गरी केहीलाई उपचारका लागि काठमाण्डू ल्याइएको छ । प्रहरीका अनुसार काठमाण्डूका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि घरफिर्ता (डिस्चार्ज) भएका गरी हालसम्म ९७ जना रहेका छन् ।    
    
 बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कार्यालय तथा अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७, सशस्त्र प्रहरी बल नेपालका १३ जना कर्मचारी हालसम्म सम्पर्कविहीन छन् ।    
    
 बाढीमा परी सर्वसाधारणसहित हालसम्म दुई हजार ३८१ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारकार्यलाई तीव्र पारिएको छ ।    
    
 नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धारकार्य जारी राखेका छन् ।    
 

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update