RayNewsDaily
भोटेकोशीले बगाएका शवको पहिचान र परीक्षणका लागि १०२ वटा शव पोखरा ल्याइयो   

कास्की । त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ वटा शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ ।    
    
भोटेकोशीले बगाएकाको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासीलगायत जिल्लामा फेला पारेका शव व्यवस्थापन तथा परीक्षण गर्ने व्यवस्था नभएपछि पोखरा ल्याइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले बताउनुभयो ।     
    
बिहीबार राति पूर्वी नवलपरासीबाट ४१, तनहुँबाट २३, गोरखाबाट ११ र धादिङबाट २७ शव ल्याइएका तथा तिनको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको जानकारी दिँदै उहाँले तनहुँका विभिन्न स्थानमा भेटिएका नौ शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणपछि मणिपाल शिक्षण अस्पताल पठाइएको छ । पोखराका सरकारी तथा निजी अस्पतालमा गरी ८८ शव व्यवस्थापनको क्षमता छ ।    
    
शवको परीक्षण गरी पहिचानका लागि सार्वजनिक सूचना जारी गर्ने तयारीमा स्थानीय प्रशासन छ । रासस   
    
    
 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update