RayNewsDaily
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढीप्रभावितको उद्धार र राहतका लागि तत्काल आवश्यक पर्ने स्रोतसाधन र आर्थिक अभाव हुन नदिने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।

भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले उद्धार तथा राहतमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“अहिले दुई-चार दिन हामी राहत र उद्धारमै खटिरहेका छौँ । अलपत्र पर्नुभएका धेरै नेपाली नागरिक एवं विदेशी पर्यटकको उद्धार भइरहेको छ,” उहाँले भन्नुभयो, “मौसमले साथ दिएसम्म उद्धारका गतिविधि चलिरहनेछन् ।”

अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई अर्ब ३४ करोड रहेको जानकारी दिनुभयो । अर्थ मन्त्रालयले गृह मन्त्रालयका लागि रु एक अर्ब १७ करोड विनियोजन गरिसकेको उल्लेख गर्दै उहाँले तत्कालका लागि साधन, स्रोत र आर्थिक आवश्यकतामा कमी हुन नदिने गरी अघि बढ्न मन्त्रिपरिषद्ले आफूलाई जिम्मेवारी दिएको बताउनुभयो ।

उहाँले उद्धार र राहतपछि मात्रै मध्यकालीन तथा दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइने स्पष्ट पार्नुभयो । प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम अत्यासलाग्दो रहेको उल्लेख गर्दै उहाँले तथ्य र तथ्याङ्क प्राप्त भएपछि विसं २०७२ को भूकम्पपछि जसरी नै पुनर्निर्माणको महाअभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अर्थमन्त्री वाग्लेले स्रोतसाधन र अन्तर्राष्ट्रिय सहयोग जुटाउने काममा सरकार लागिसकेको बताउनुभयो । विश्व बैंकसँगको समन्वयमा करिब रु २५ अर्ब बराबरको आर्थिक सहायता जुटाइएको जानकारी दिँदै उहाँले चीन, भारत र जापान सरकार तथा एसियाली विकास बैंक र इन्टरनेसनल फेडरेसन अफ द रेडक्रस, जेनेभाबाट तत्काल सहयोगको प्रतिबद्धता प्राप्त भएको बताउनुभयो ।

बाढीका कारण करिब २५ वटा पक्की पुल र ७०० मेगावाट क्षमताका जलविद्युत् आयोजनामा क्षति पुगेको उहाँले जानकारी दिनुभयो । सरकारले मात्रै नभई सबै निकायसँग समन्वय गरेर पुनर्निर्माणको काम अघि बढाउने उल्लेख गर्दै उहाँले समाजका सबै पक्ष, राजनीतिक दल र निकाय पुनर्निर्माणको अभियानमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update