चितवन । चितवन हुँदै बग्ने त्रिशूली र नारायणी नदीमा आज बिहानदेखि तीव्र रूपमा शव खोजी भइरहेको छ । बिहान ११ बजेसम्म ६९ वटा शव फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शवमध्ये १९ पुरुष, १५ महिला, चार बालक र दुई बालिकाका सग्ला शव छन् । यस्तै, २९ वटा अङ्गभङ्ग अवस्थामा फेला परेका छन् ।
शव खोजीका लागि नेपाली सेनाका ३३३, नेपाल प्रहरीका २५० र सशस्त्र प्रहरीका १५० जनाभन्दा बढी जनशक्ति नदी किनारमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । शव खोजी तथा व्यवस्थापनबारे सरोकारवालासँग जिल्ला प्रशासन कार्यालयमा छलफलसमेत गरिएको छ ।
प्रजिअ अर्यालका अनुसार उद्योग सङ्घ चितवनसँगै रहेको औद्योगिक विकास प्रतिष्ठानमा शव राख्न वातावरण अनुकूलित स्थान तयार गरिँदै छ । त्यहाँ शव राखेर सम्बन्धित शवको तस्बिर बाहिर ‘मोनिटर’मा देखाइने व्यवस्था गरिँदै छ । भेटिएका शवको नजिकबाट तस्बिर लिएर ‘कोडिङ’ गरिने र खोजीका लागि आएका आफन्तलाई देखाएर पहिचान भएपछि आवश्यक प्रक्रिया पूरा गरी शव हस्तान्तरण गरिनेछ ।
हालसम्म भेटिएका शव भरतपुर अस्पतालको शवगृहमा राखिएका छन् । अस्पतालको शवगृहमा खाँदेर राख्दा बढीमा ८० वटासम्म शव राख्न सकिने प्रजिअ अर्यालले जानकारी दिनुभयो । बाहिरी जिल्लाबाट पठाइएका शव सम्बन्धित जिल्लामै फिर्ता गरिएको र अन्य जिल्लालाई आफैँ व्यवस्थापन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । तनहुँबाट बुधबार पठाइएका नौ शवसमेत फिर्ता गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटीले शव राख्न सुरक्षा निकायलाई ९५ वटा झोला हस्तान्तरण गरेको छ । शवका लागि आवश्यक त्रिपाल र स्ट्रेचर पनि रेडक्रसले उपलब्ध गराएको छ ।
बैठकमा होटल व्यवसायी सङ्घ चितवनले आफन्त हराएर खोजीका लागि आउनेलाई निःशुल्क खाना र बस्ने व्यवस्था गर्ने जनाएको छ । सङ्घका महासचिव कृष्णकुमार चौधरीले सबै होटलमा छुट्टै व्यवस्था गरिने बताउनुभयो ।
शव खोजी तथा व्यवस्थापनका क्रममा आवश्यक सामग्री सहयोग गर्न उद्योग वाणिज्य सङ्घ चितवन र उद्योग सङ्घले आफू तथा मातहतका निकायमार्फत सहयोग गर्ने जनाएका छन् । प्रमुख जिल्ला अधिकारी अर्यालले शवका विभत्स तस्बिर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रयोग नगर्न आग्रह गर्नुभएको छ ।
बैठकमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नदी तटीय क्षेत्रका वडा अध्यक्ष, सुरक्षा निकायका प्रमुख, अस्पताल व्यवस्थापक तथा सञ्चालक, उद्योग वाणिज्य सङ्घ र उद्योग सङ्घका अध्यक्षलगायत सरोकारवालाको उपस्थिति थियो । रासस
