- कुरिनटारदेखि नारायणगढसम्म १८ शव फेला ।
- १२ वटा हातखुट्टा पनि भेटिएको प्रशासनको भनाइ ।
- नारायणीको बहाव घटेसँगै चितवनमा जोखिम घट्यो ।
चितवन । तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएका छन् । कुरिनटारदेखि नारायणगढको लीलाचोकसम्म विभिन्न स्थानमा ती शव भेटिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार साँझ ६ बजेसम्म १८ वटा शव भेटिएका छन् । सुरक्षा निकायले नदी तटीय क्षेत्रमा उच्च सतर्कताका साथ बगेर आएका शव निकाल्ने काम गरिरहेको छ । उहाँका अनुसार १२ वटा हातखुट्टा पनि भेटिएका छन् ।
बाढीको बहावसँगै शवहरू आएको जनाइएको छ । घटनाको थप विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ ।
नारायणगढसम्म बाढी आइपुगे पनि पानीको बहाव खतरा तहमा नपुगेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । उहाँका अनुसार चितवन तत्काल बाढीको जोखिममा छैन । उहाँले सर्वसाधारणलाई नदीमा बगेर आएका सामान तान्न नजान तथा शव देखिए तत्काल सुरक्षा निकायलाई खबर गर्न आग्रह गर्नुभएको छ ।
नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख इन्जिनियर सुमित अधिकारीका अनुसार देवघाटस्थित नारायणी नदीको बहाव घट्न थालेको छ । यहाँ नौ मिटर पानीको सतह पुगेपछि खतरा मानिन्छ । पानीको सतह ६ दशमलव ८० मिटर पुगेपछि घट्न थालेकाले तत्कालको खतरा टरेको उहाँले बताउनुभयो ।
बाढीको जोखिमका कारण पृथ्वी राजमार्ग तथा नारायणगढ-मुग्लिन सडकखण्डमा दिउँसैदेखि सवारीसाधन रोकिएको छ । पोखरातर्फ जाने सवारीसाधन पठाउन भने सुरु गरिएको छ । पृथ्वी राजमार्गको धादिङ क्षेत्रमा सडक अवरुद्ध भएकाले त्यसतर्फ जाने सवारीसाधन रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले बताउनुभयो ।
नारायणी नदीमा बाढी आउन सक्ने भन्दै नदी आसपासका विद्यालयसमेत बन्द गरिएको थियो । नदी तटीय क्षेत्रमा सुरक्षा निकायले माइकिङ गरी सर्वसाधारणलाई सतर्क गराएको थियो । रासस
