RayNewsDaily
हिमपहिरोका कारण रसुवामा बाढी, लेन्दे खोलामा १४ महिनामै दुई पटक भीषण बाढी
  • हिमपहिरोका कारण नदी थुनिएर बाढी आएको हुनसक्ने 
  • लेन्दे खोलामा १४ महिनाभित्र दुई पटक भीषण बाढी 
  • नदीको माथिल्लो भागमा अवरोध रहेकाले पुनः बाढीको जोखिम 

काठमाडौँ । रसुवागढी, भोटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा बुधबार आएको भीषण बाढी हिमपहिरोका कारण नदी थुनिएर अचानक ठूलो बहाव तलतिर आएका कारण हुनसक्ने विज्ञहरूले बताएका छन् । यसको पुष्टि भने हुन बाँकी रहेको उनीहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड)का विपद् जोखिम न्यूनीकरण विज्ञ शास्वत सन्यालले रसुवाको लेन्दे खोलामा १४ महिनाभित्र दुई पटक भीषण बाढी आएको बताउनुभयो । उहाँका अनुसार यस पटक सम्भवतः हिमपहिरोका कारण नदी थुनिएर अचानक ठूलो पानीको बहाव तलतिर आएको हुन सक्छ । थप विवरण प्राप्त भएपछि मात्र यसको पुष्टि हुने उहाँले बताउनुभयो ।

यसैगरी, इसिमोडका जलवायु तथा वातावरणीय जोखिम प्रमुख स्याङ्गोङ झाङले गत वर्षको बाढीबाट तहसनहस भएको सोही क्षेत्र फेरि जोखिममा परेको बताउनुभयो । उहाँका अनुसार लेन्दे खोलामा आएको बाढी हिमपहिरोका कारण भए पनि त्यसको पुष्टि हुन बाँकी छ ।

नेपाल-चीन सीमास्थित नदीको माथिल्लो भागमा अझै अवरोध कायम रहेकाले दोस्रो पटक बाढी आउन सक्ने जोखिम रहेको झाङले बताउनुभयो । बाढीबाट सो क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको बताइएको छ । रासस

 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update