- काठमाडौँका विभिन्न अस्पतालमा २५ जनाको उपचार ।
- ट्रमा सेन्टरमा चार जना घाइते ।
- रसुवा अस्पतालमा थप २१ जनाको उपचार ।
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार केही घाइतेको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार चार जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रमा सेन्टरमा नुवाकोटको विदुर नगरपालिका-५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछानेको उपचार भइरहेको छ ।
त्यस्तै, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवा गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नुवाकोट विदुर नगरपालिका-३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड-५ का पेम्बा तामाङ, ठेगाना नखुलेका कुशल मगर, कार्की थरका एक पुरुष, नामथर खुल्न नसकेका एक पुरुष, सिन्धुपाल्चोकका मीनबहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोक बाह्रबिसे-५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ तथा जाजरकोटका बलबहादुर घर्ती मगरको उपचार भइरहेको छ ।
त्यसैगरी, गोसाइँकुण्ड-७ का कामु नगरकोटीको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उहाँसँग तीन महिनाको नाबालक शिशुसमेत रहेको जनाइएको छ ।
प्रहरीका अनुसार टिमुरे गोसाइँकुण्ड-७ का प्रेमदोर्जे घले, नेमा दोर्जे घले, ठेगाना नखुलेका फुर्प लामा, बर्दिया जीतपुरका रामप्रसाद थारु, रसुवा बेत्रावती गाउँपालिका-५ का सुराची राना मगर र भक्तपुर चाँगुनारायण नगरपालिका-१ की रिता दोचाको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच, रसुवा अस्पतालमा २१ जना घाइतेको उपचार भइरहेको जनाइएको छ । अस्पतालका अनुसार सागर सहनी, रमेशबहादुर बुढा, ज्ञानबहादुर थिङ, श्यामलाल मोक्तान, चन्द्रबहादुर बुढा, तीर्थबहादुर बुढा, उमेश रावल, राजु तामाङ, भुवनसिंह पाख्रिन, नीमा ग्याल्बो घले, तीर्थबहादुर कार्की, सुकुमान कामी, प्याल्याङ शेर्पा, रेजिन शेर्पा, मिसान तामाङ, प्रतिमा लामा, फुर्वा योन्जन तामाङ, उपेश चौधरी, रोहन चौधरी, नीमा कर्मा र धुम्पु घलेको उपचार भइरहेको छ । रासस
