- उद्धार तथा राहतका लागि तीनवटै सुरक्षा निकाय परिचालन ।
- प्रभावित क्षेत्रमा थप जनशक्ति, एम्बुलेन्स र मेडिकल टोली पठाइँदै ।
- तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न निर्देशन ।
रे समाचार/काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको बताउनुभएको छ । प्रभावित क्षेत्रमा अन्य जिल्लाबाट समेत थप जनशक्ति पठाइएको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री शाहका अनुसार विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाइएको छ । मेडिकल टोली, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटीलगायतका निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा राहतका काम अघि बढाउन निर्देशन दिइएको छ ।
प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति पठाउने प्रक्रिया अघि बढाइएको छ । तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताउनुभयो ।
सम्भावित उद्धार तथा राहतका लागि सबै हेलिकोप्टरलाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ । निजी हेलिकोप्टर कम्पनीलाई समेत आवश्यक परेका बेला परिचालन गर्न सकिने गरी तयारी अवस्थामा रहन जानकारी गराइएको छ ।
बाढीपछिको अवस्था र आगामी आवश्यक कदमबारे छलफल गर्न केही समयभित्र उच्चस्तरीय बैठक बोलाइएको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो ।
उहाँले सबैलाई सुरक्षित स्थानमा बस्न तथा आफन्तसँग सम्पर्क हुन नसकेमा सम्बन्धित निकायबाट जारी हुने उद्धारसम्बन्धी सूचनाको प्रतीक्षा गर्न आग्रह गर्नुभएको छ । थप जानकारी तथा राहतसम्बन्धी विवरणका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।
