- भाल्चेमा बरुवाल भेडाको नश्ल सुधार ।
- भेडा फार्ममा पर्यटकको आकर्षण बढ्दो ।
- स्वदेशी भेडापालन प्रवर्द्धनमा जोड ।
प्रकाश सिलवाल/भाल्चे, नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका-१ भाल्चेस्थित भेडा आनुवंशिक स्रोत केन्द्र बरुवाल जातको भेडाको नश्ल सुधारसँगै पर्यटकीय गन्तव्यका रूपमा समेत विकास हुँदै गएको छ । मनमोहक प्राकृतिक दृश्य र भेडा फार्म अवलोकनका लागि यहाँ आन्तरिक तथा विदेशी पर्यटक पुग्ने गरेका छन् ।
समुद्री सतहबाट करिब दुई हजार मिटरको उचाइमा रहेको स्रोत केन्द्रको नाममा ६६० रोपनी जमिन छ । काठमाडौँबाट करिब १०१ किलोमिटर दूरीमा रहेको केन्द्रमा हाल ३५४ भेडा छन् । यहाँ पर्याप्त खर्क तथा चरण क्षेत्रसमेत रहेको छ ।
सरकारको राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयअन्तर्गत रहेको केन्द्रले भेडापालक किसान समूहलाई प्रजननका लागि भेडा तथा थुमा बिक्री गर्दै आएको छ । हाल नुवाकोटका दुई तथा धादिङ र रसुवाका चार किसान समूहले यहाँबाट प्रजननका लागि भेडाका पाठापाठी लैजाने गरेका छन् ।
किसान समूहको निवेदन र वडा कार्यालयको सिफारिसपछि राजस्व तिराएर भेडा बिक्री गर्ने व्यवस्था रहेको केन्द्रका कार्यालय प्रमुख डा श्यामकृष्ण तिवारीले बताउनुभयो । मागअनुसार केन्द्रमा उत्पादन भएका प्रजननयोग्य थुमा कृषकलाई बिक्री वितरण गरिन्छ ।
केन्द्रले बहुवर्षीय घाँस राईघाँस, सेटेरिया, किक्यु तथा पास्पालमको बीउ तथा बेर्ना उत्पादन र बिक्री वितरणसमेत गर्दै आएको छ । किसानलाई ऊन काट्ने कैँची, भेडा पाल्ने त्रिपाल, र्यानकोटलगायत सामग्री उपलब्ध गराउनुका साथै तालिम पनि दिइँदै आएको छ ।
कार्यालय प्रमुख तिवारीका अनुसार केन्द्रको मुख्य उद्देश्य धेरै भेडा आफैँ पाल्नुभन्दा किसानको उत्पादन बढाउन सहयोग गर्नु हो । बरुवाल जातको भेडा संरक्षणका लागि स्थापना गरिएको केन्द्रमा न्यूनतम दुई सय भेडा राखे पुग्ने भए पनि पर्याप्त चरण क्षेत्र रहेकाले करिब पाँच सय भेडा पुर्याउने लक्ष्य राखिएको छ ।
आनुवंशिक स्रोत केन्द्रले राष्ट्रियस्तरमा भेडाको उत्पादकत्व वृद्धि, संरक्षण र प्रवर्द्धनमार्फत स्थानीय बासिन्दाको जीवनस्तर उकास्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । भेडापालनसँगै स्थानीय कृषकको मागअनुसार गाईभैँसीमा प्राकृतिक प्रजनन सेवा उपलब्ध गराउन मुर्रा क्रस राँगो र जर्सी साँढेसमेत केन्द्रमा राखिएको छ ।
भेडा फार्मलाई थप पर्यटकीय केन्द्रका रूपमा विकास गर्न गाउँपालिकाले आवश्यक पर्यटकीय पूर्वाधार निर्माणको काम अघि बढाइरहेको प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाले बताउनुभयो । हालै गाउँपालिकाका कार्यबाहक अध्यक्ष अर्जुनप्रसाद न्यौपानेसहितको टोलीले फार्मको अवलोकन गरेको थियो ।
स्थापनादेखि नै स्थानीय बरुवाल भेडाको नश्ल सुधार, उन्नत जातका भेडाको उत्पादन तथा कृषकलाई प्रजननयोग्य थुमा उपलब्ध गराउँदै आएको यस केन्द्रको इतिहास राणाकालीन सरकारी गाईगोठसँग जोडिएको छ । भेडा विकास फार्म स्थापना हुनुअघि यहाँ सरकारी गाईगोठ सञ्चालनमा थियो, जसलाई स्थानीय बासिन्दाले ‘राजाको गोठ’ भन्ने गर्दथे । त्यहाँ उत्पादित दूध, दही, मही र घ्यू काठमाडौँ दरबारमा पठाउने गरिन्थ्यो ।
तत्कालीन श्री ५ को सरकार, कृषि मन्त्रालयले गाईगोठ हटाएर स्थानीय बरुवाल भेडाको नश्ल सुधार तथा मासु र ऊन उत्पादन वृद्धि गर्ने उद्देश्यले भेडा फार्म स्थापना गरेको थियो । फार्म स्थापना भएपछि विदेशी जातका भेडासँग स्थानीय बरुवाल भेडाको प्रजनन गराई वर्णशङ्कर पाठापाठी उत्पादन तथा अध्ययन-अनुसन्धान अघि बढाइएको थियो ।
विसं २०२७/२८ मा अस्ट्रेलियन पोलवर्थ र स्थानीय बरुवाल भेडाबीच क्रस प्रजनन गराई ५० प्रतिशत क्रस भेडा उत्पादन तथा विभिन्न अध्ययन-परीक्षण सुरु गरिएको थियो । विसं २०३० जेठ २६ गते तत्कालीन राजा वीरेन्द्र शाहले फार्मको अवलोकन गरी विस्तारका लागि निर्देशन दिएपछि कार्यक्रम थप सक्रिय बनेको थियो ।
विसं २०३०/३१ देखि फार्ममा उत्पादित उन्नत जातका थुमा प्रजननका लागि स्थानीय किसान तथा देशका विभिन्न जिल्लामा वितरण गर्न थालिएको थियो । विसं २०३५/३६ मा विश्व बैंकको ऋण सहयोगमा रसुवा-नुवाकोट एकीकृत ग्रामीण विकास परियोजना सञ्चालन भएपछि फार्मको भौतिक पूर्वाधार विकास तथा भेडाको नश्ल सुधार, अध्ययन-अनुसन्धान, उत्पादन र वितरणमा थप सहयोग पुगेको थियो ।
सोही परियोजनाअन्तर्गत विसं २०३६ फागुनमा फ्रान्सबाट चार महिनाका आठ पाठी र दुई पाठा गरी १० वटा फ्रेन्च मेरिनो डार्ले जातका भेडा ल्याइएको थियो । अन्य जातको अपेक्षित वृद्धि र विकास हुन नसकेपछि हाल स्रोत केन्द्रमा बरुवाल भेडा मात्रै राखिएको छ । रासस
