RayNewsDaily
१४ बुँदे सहमतिपछि लघुवित्त ऋणी घर फर्किए, ३२३ जनालाई आठ वटा बसमा पठाइयो
  • सरकारसँग १४ बुँदे सहमति भएपछि पुल्चोकको धर्ना स्थगित ।
  • ३२३ ऋणीलाई आठवटा साझा यातायातका बसबाट घर पठाइयो ।
  • झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुलीलगायत जिल्लातर्फ प्रस्थान ।

काठमाडौँ । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग १४ बुँदे सहमति भएपछि आज आ-आफ्नो घर फर्किएका छन् ।

नेपाल सरकार र ऋणीका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि ऋणीहरूले लामो समयदेखि जारी धर्ना स्थगित गरेका हुन् ।

सहमति भएपछि आज बिहान ८ः५० बजेदेखि सरकारले साझा यातायातका बसको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको हो । विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई आठवटा बसमार्फत बिदाइ गरिएको थियो ।

उनीहरूलाई झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लातर्फ पठाइएको हो ।

सरकारसँग भएको सहमतिपछि धर्ना स्थगित भएसँगै ऋणीहरू घर फर्किएका हुन् । सहमतिमा समेटिएका माग कार्यान्वयन हुने अपेक्षा ऋणीहरूले गरेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update