बाजुरा । बाजुराका सयौँ बाढी–पहिरो पीडित अहिले त्रिपालमुनि बस्न बाध्य भएका छन्। घरबास गुमाएका पीडितलाई बसोबाससँगै खाद्यान्नको समेत अभाव भएको छ।
जिल्लाका अधिकांश गाउँबस्ती भिरालो तथा पाखो जमिनमा अवस्थित भएकाले पछिल्ला वर्षहरूमा बाढी–पहिरोको उच्च जोखिममा पर्दै आएका छन्। बस्तीमाथिबाट आउने पहिरोका कारण ज्यान जोखिममा परेपछि धेरै परिवार सुरक्षित स्थानमा त्रिपाल टाँगेर बस्न बाध्य भएका हुन्। पहिरोले घर, खाद्यान्न, लत्ताकपडा तथा अन्य सम्पत्ति क्षति गरेपछि पीडितलाई अहिले बस्ने बाससँगै खाने गाँसको समस्या परेको छ।
२०८३ जेठ १२ गते बुढीनन्दा नगरपालिका–१ का जङ्गसाल, भारती र कोसाडी गाउँमाथिबाट आएको पहिरोले चार घर पूर्ण रूपमा क्षति गरेको थियो भने सयौँ घर उच्च जोखिममा परेका थिए। तीमध्ये केही परिवार अझै पनि त्रिपालमुनि बस्दै आएका छन्।
त्यस्तै, साउन ८ गते राति परेको अविरल वर्षासँगै आएको बाढी–पहिरोले बडीमालिका नगरपालिका–९ सेलाघाटका १३ परिवारलाई घर छाडेर केही दिन त्रिपालमा बस्न बाध्य बनाएको थियो। बाढी–पहिरो घरभित्र पसेपछि उनीहरूले अस्थायी आश्रय लिनुपरेको हो।
साउन २८ गते राति त्रिवेणी नगरपालिका–९ ताम्सु गाउँमाथिबाट आएको पहिरोले ९६ घरपरिवारलाई प्रभावित बनाएको छ। तीमध्ये धेरै परिवार अहिले पनि त्रिपालमुनि बसिरहेका छन्। दुई परिवार भने पूर्ण रूपमा घरबारविहीन भएका छन्।
स्थानीय पीडितका अनुसार स्थानीय तहले केही दिनका लागि राहत उपलब्ध गराए पनि त्यसपछि बसोबास र खाद्यान्नको समस्या कायमै छ। “एक–दुई दिनका लागि सहयोग पाइयो, त्यसपछि कहाँ बस्ने र के खाने भन्ने चिन्ता छ,” एक पीडितले गुनासो गर्नुभयो।
स्थानीय तहहरूले प्रभावित परिवारको संख्या धेरै भएकाले तत्काल त्रिपालबाहेक अन्य राहत सामग्री वितरण गर्न कठिनाइ भएको बताएका छन्। त्रिवेणी नगरपालिकाका सूचना अधिकारी नरेश पन्तका अनुसार दुई परिवारबाहेक अन्यलाई खाद्यान्न वितरण गर्न सकिएको छैन।
यता, गत बिहीबार गौमुल गाउँपालिका–३ कटीगाउँमा अविरल वर्षासँगै आएको पहिरोले १४ घरपरिवार विस्थापित भएका छन्। तीमध्ये दुई परिवार पूर्ण रूपमा घरबारविहीन भएका छन्। उनीहरूको खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्रीसमेत नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले वैशाखदेखि भदौसम्म २०३ थान त्रिपाल वितरण गरेको जनाएको छ। बाढी–पहिरोबाट प्रभावित परिवारलाई अस्थायी बसोबासका लागि त्रिपाल उपलब्ध गराइएको शाखाले जनाएको छ।
जिल्ला शाखाका सभापति मेशराज जैशीका अनुसार हालसम्म त्रिवेणी–९ ताम्सुमा ६१, बुढीनन्दामा १००, सेलाघाटमा १६ तथा अन्य प्रभावित परिवारलाई ३६ थान त्रिपाल वितरण गरिएको छ।
उहाँले भन्नुभयो, “एक सय थान त्रिपाल उपशाखाहरूलाई दिएका छौँ। अहिले पनि १९७ थान त्रिपाल मौज्दात छन्। आवश्यक परेमा निवेदनका आधारमा वितरण गर्छौँ।” प्रहरीको प्रतिवेदन, क्षतिको विवरण तथा स्थलगत अनुगमनका आधारमा मात्रै त्रिपाल वितरण गर्ने गरिएको उहाँले बताउनुभयो।
जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा, गौमुल, बडीमालिका, बुढीगंगा, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिका तथा नगरपालिकाका करिब ११५ बस्ती पहिरोको जोखिममा छन्। तीमध्ये ९६ बस्ती उच्च जोखिममा रहेका छन् भने ६५ बस्तीलाई स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो। गोरखापत्र अनलाईन
