RayNewsDaily
जापानिज इन्सेफ्लाइटिसबाट सप्तरी र कैलालीमा चार जनाको मृत्यु
  • सप्तरीमा दुई जनाको मृत्यु ।
  • कैलालीमा दुई महिलाको मृत्यु ।
  • लामखुट्टेको टोकाइबाट बच्न आग्रह ।

सप्तरी । जापानिज इन्सेफ्लाइटिसका कारण सप्तरी र कैलालीमा चार जनाको मृत्यु भएको छ । सप्तरीमा दुई तथा कैलालीको घोडाघोडी नगरपालिकामा दुई जनाको मृत्यु भएको हो ।

सप्तरीमा तिलाठी कोइलाडी गाउँपालिका-१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका-३ का १४ वर्षीय शिवकुमार रामको उपचारका क्रममा गत साउन २१ गते मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत शतिश यादवले जानकारी दिनुभयो ।

यादवको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र रामको गोल्डेन हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्लामा जापानिज इन्सेफ्लाइटिसका तीन जना बिरामी देखिएको र उपचारपछि एक जना निको भएको स्वास्थ्य अधिकृत यादवले बताउनुभयो ।

उहाँले लामखुट्टेको टोकाइबाट जोगिन साँझपख घरबाहिर ननिस्कने, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउने र सुत्दा झूल प्रयोग गर्न आग्रह गर्नुभयो ।

यसैबीच कैलालीको घोडाघोडी नगरपालिकामा पनि जापानिज इन्सेफ्लाइटिसबाट दुई जनाको मृत्यु भएको छ । घोडाघोडी-४ र ९ का ३४ र ७० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहराले जानकारी दिनुभयो ।

घोडाघोडीमा पछिल्लो तीन वर्षयता जापानिज इन्सेफ्लाइटिसका बिरामी देखिन थालेका छन् । गत आर्थिक वर्षमा वडा नं ४ का एक जनामा सङ्क्रमण देखिए पनि उपचारपछि निको भएका थिए । आर्थिक वर्ष २०८१/८२ मा वडा नं ५ र ६ का दुई जनामा सङ्क्रमण देखिएको थियो ।

सिनियर अहेब बोहराका अनुसार जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । सङ्क्रमित सुँगुर वा बङ्गुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा भाइरस सर्न सक्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्न र घर वरिपरि सरसफाइमा ध्यान दिन आवश्यक छ ।

सङ्क्रमण देखिएपछि घोडाघोडी नगरपालिकाको स्वास्थ्य शाखाले आकस्मिक बैठक गरी रोगको अवस्था र रोकथामका उपायबारे छलफल गरेको छ । नगरपालिकाका १३ वटै स्वास्थ्य संस्थामार्फत जोखिम, लक्षण र रोकथामका उपायबारे समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

नगरपालिकाका ८४ वटा आमा समूहलाई समेत परिचालन गरी रोगका लक्षण, रोकथामका उपाय र समयमै स्वास्थ्य संस्थामा पुग्नुपर्ने विषयमा जानकारी गराइने बोहराले बताउनुभयो ।

अत्यधिक ज्वरो आउने, बेहोस हुनेलगायतका लक्षण देखिएमा बिरामीलाई तत्काल स्वास्थ्य संस्थामा पुर्‍याउन उहाँले आग्रह गर्नुभयो । साथै झूल प्रयोग गर्ने, घर वरिपरि पानी जम्न नदिने र सरसफाइमा ध्यान दिन पनि उहाँले सुझाव दिनुभयो । रासस

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update