RayNewsDaily
भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्र
  • परम्परागत नेवारी शैलीमा पुनर्निर्माण ।
  • रु ३४ करोड ८० लाखमा निर्माण हुँदै ।
  • पाटी, सत्तलसहित पुराना संरचना पुनर्निर्माण गरिँदै ।

रे समाचार/काठमाडौँ । काठमाडौँको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा भइरहेको छ । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त परिसरको पुनर्निर्माण परम्परागत नेवारी वास्तुशैलीमा भइरहेको हो ।

विसं २०८१ असारदेखि सुरु भएको पुनर्निर्माणअन्तर्गत मुख्य मन्दिरसँगै पश्चिम, उत्तर र दक्षिणतर्फका पाटी तथा सत्तललगायत संरचनाको पुनर्निर्माण र जीर्णोद्धार भइरहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

रु ३४ करोड ८० लाख ७१ हजारको लागतमा तुल्सी-अम्बुजा जेभीले पुनर्निर्माणको जिम्मेवारी पाएको हो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजनामा परम्परागत वास्तुशैलीअनुसार कुँदिएका बुट्टेदार ढोका, झ्याल र थाम प्रयोग गरिनेछ भने छानोमा परम्परागत झिँगटी राखिनेछ ।

काठमाडौँ महानगरपालिकाका सम्पदा तथा पर्यटन विभागका सिभिल इन्जिनियर रवीन्द्र रिजालका अनुसार उत्तरतर्फ भृकुटीमण्डप क्षेत्रमा दुईवटा ब्लक आपसमा जोडिनेछन् भने दक्षिणतर्फ तीनवटा ब्लक निर्माण हुनेछन् । निर्माण हुने सबै भवनको कुल क्षेत्रफल करिब ३९ हजार वर्गफिट रहनेछ ।

पुनर्निर्माणका क्रममा मन्दिर परिसरमा रहेका पुराना संरचना, शिल्प तथा वास्तुशैलीको अभिलेखन गर्ने जिम्मेवारी पुरातत्त्व विभागले लिएको छ ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण पूर्वाधार विकाससँगै सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणसँग जोडिएको महत्वपूर्ण कार्य भएको बताउनुभयो ।

पुनर्निर्माणलाई व्यवस्थित र सहजीकरण गर्न सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतको संयोजकत्वमा मन्दिर पुनर्निर्माण सहजीकरण समिति गठन गरिएको छ । समितिमा सम्बन्धित वडा अध्यक्ष, सहरी विकास आयोजना, मन्दिर व्यवस्थापन समिति, पुरातत्त्व विभाग र गुठी संस्थानका प्रतिनिधिसहित सदस्य रहेका छन् ।

परम्परागत नेवारी वास्तुकला, काठमा कुँदिएका बुट्टा तथा मौलिक निर्माण शैलीलाई संरक्षण गर्दै भइरहेको पुनर्निर्माण सम्पन्न भएपछि काठमाडौँको महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update