RayNewsDaily
गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा
  • गोर्खाली सैनिकको बहादुरी र बलिदानको प्रशंसा ।
  • भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक र गौरवपूर्ण ।
  • कोहलपुरमा पूर्वसैनिकका लागि पोलिक्लिनिक उद्घाटन ।

रे समाचार/पोखरा । भारतका स्थलसेनाध्यक्ष धीरज सेठले भारत-नेपाल सैनिक सम्बन्ध ऐतिहासिक र गौरवपूर्ण रहेको बताउँदै गोर्खाली सैनिकको साहस, बहादुरी र योगदानको प्रशंसा गर्नुभएको छ ।

पोखरास्थित भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालयमा आज आयोजित भूतपूर्व सैनिकको भेलामा उहाँले दुई देशबीचको सैनिक सम्बन्ध अतुलनीय रहेको बताउनुभयो । गोर्खाली सैनिकले भारतीय सेनामा देखाएको बहादुरी अविस्मरणीय रहेको उहाँको भनाइ थियो ।

सेनाध्यक्ष सेठले गोर्खाली सैनिकको बहादुरी, बफादारी र बलिदानका कारण विश्वमै छुट्टै पहिचान बनेको बताउनुभयो ।

भारत-नेपाल सम्बन्ध परम्परा, संस्कृति, धर्म र आस्थासँग जोडिएको उल्लेख गर्दै उहाँले सरकारीस्तरसँगै दुई देशका नागरिकबीचको सम्बन्ध पनि प्रगाढ रहेको बताउनुभयो ।

यस अवसरमा सेनाध्यक्ष सेठले भूतपूर्व सैनिक तथा उनीहरूका परिवारका लागि बाँकेको कोहलपुरमा स्थापना गरिएको पोलिक्लिनिकको भर्चुअल माध्यमबाट शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा वीरगति प्राप्त पूर्वसैनिकका परिवारका सदस्यलाई सम्मान गरिएको थियो । घाइते भूतपूर्व सैनिकलाई अपाङ्गतामैत्री स्कुटरसमेत प्रदान गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update