RayNewsDaily
गोसाइँकुण्ड जाने तीर्थयात्रीको स्वास्थ्य सुरक्षाका लागि चार स्थानमा शिविर
  • चार स्थानमा स्वास्थ्य शिविर ।
  • चन्दनबारीमा हेल्थ डेस्क ।
  • उद्धार टोली तयारीमा । 

रसुवा । जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड मेला भर्न जाने तीर्थयात्रीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी चार स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।

यही भदौ १२ गते जनैपूर्णिमाका दिन गोसाइँकुण्डमा मेला लाग्दैछ । कठिन उकालो, चिसो मौसम र उच्च भूभागमा यात्रा गर्नुपर्ने भएकाले तीर्थयात्रीको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै शिविर सञ्चालनको तयारी गरिएको रसुवा जनस्वास्थ्य अधिकृत नीरध्वज घर्तीमगरले राससलाई जानकारी दिनुभयो ।

तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन धुन्चे, चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । धार्मिक यात्राको प्रवेशविन्दु मानिने शिव मन्दिर क्षेत्रमा पहिलो स्वास्थ्य परीक्षण गरिनेछ । त्यहाँ रसुवा अस्पताल तथा आयुर्वेदका चिकित्सकले स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधि वितरण गर्नेछन् ।

चोलाङपाटीमा नेपाली सेना श्रीश्रीनाथ गणले चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गर्नेछ भने लौरीविनायकमा गोसाइँकुण्ड गाउँपालिका र गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घले स्वास्थ्य शिविर सञ्चालन गर्ने तय भएको छ । नेपाली सेनाले चोलाङपाटीका अतिरिक्त चन्दनबारीमा समेत हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचार सेवा दिनेछ ।

उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा देखिन सक्ने लेक लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकानलगायत स्वास्थ्य समस्यामा तत्काल प्राथमिक उपचार र चिकित्सकीय परामर्श उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

समुद्र सतहबाट करिब चार हजार ३८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन देशका विभिन्न स्थानसँगै भारतबाट समेत ठूलो सङ्ख्यामा तीर्थयात्री पुग्ने गर्छन् । भगवान् शिवसँग जोडिएको पवित्र धार्मिक तीर्थस्थलका रूपमा मानिने गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा स्नान तथा पूजाआजा गर्ने परम्परा छ ।

रसुवा अस्पतालका प्रमुख डा. अमित प्रजापतिले चिकित्सकको परामर्शअनुसार स्वास्थ्यको ख्याल गर्दै यात्रा गरे लौरीविनायकको कठिन उकालो पार गर्न सहज हुने बताउनुभयो । वरिष्ठ सर्जन डा सुनिलदासले उच्च लेकाली भूभागमा यात्रा गर्दा प्रशस्त पानी पिउने, विस्तारै हिँड्ने र हल्का तातो खानेकुरा सेवन गर्न सुझाव दिनुभएको छ ।

धार्मिक आस्थाका नाममा खाली पेट लामो उकालो नचढ्न तथा टाउको दुख्ने, वाकवाकी लाग्ने वा शरीरमा असहजता महसुस भए तत्काल चिकित्सकसँग परामर्श गर्न उहाँले आग्रह गर्नुभयो । लसुन, अदुवा र कागतीलगायत घरेलु उपायले सहज महसुस गराउन सक्ने भए पनि चिकित्सकले सिफारिस गरेको औषधिलाई पहिलो प्राथमिकता दिन उहाँले सुझाव दिनुभयो ।

हजारौँ तीर्थयात्रीको सम्भावित आगमनलाई ध्यानमा राख्दै यात्राको प्रारम्भदेखि नै स्वास्थ्य निगरानी र प्राथमिक उपचारको व्यवस्था मिलाइएको डा प्रजापतिले बताउनुभयो ।

स्थानीय स्वास्थ्य शिविरबाट उपचार सम्भव नभए जिल्ला अस्पताल धुन्चेसम्म ल्याउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उद्धारकर्मीलाई तयारी अवस्थामा राखिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका संरक्षक एवं रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताउनुभयो ।

उहाँले तीर्थयात्रीलाई निर्धक्क भएर यात्रा गर्न तथा शरीरमा कुनै असहजता देखिए नजिकको स्वास्थ्य शिविरमा सम्पर्क गर्न आग्रह गर्नुभयो । रासस

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update