RayNewsDaily
वर्षाले सडक अवरुद्ध, विभिन्न ठाउँमा राति यातायात बन्द
  • काभ्रे, मकवानपुर र नुवाकोटका सडकमा राति सवारीसाधन सञ्चालन रोक
  • पहिरो र सडक भासिँदा इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिमलगायतका सडक अवरुद्ध
  • प्रहरीले जोखिम भएका सडकमा सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

रे समाचार/काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका सडक प्रभावित भएका छन् ।

काभ्रेपलाञ्चोकको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ ।

मकवानपुरको कान्ति लोकपथमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नुवाकोटको टोखा-छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक सार्वजनिक तथा निजी सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।

इलाम नगरपालिका-९ राजदुवालीमा हिलो जम्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यहाँ वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो खसेको तथा लिपिङमा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडकखण्ड अवरुद्ध भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ ।

सङ्खुवासभाको भोटखोला गाउँपालिका-३ सिरेक डाँडामा कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडक १० मिटर भासिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लमजुङको बेँसीसहर-मनाङ सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका-४ रामबजारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम कायम रहेकाले अवस्था हेरेर सावधानीपूर्वक यात्रा गर्न र आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update