RayNewsDaily
सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै    

काठमाडौँ ।  आज राष्ट्रिय सूचना दिवस, २०८३ मनाइँदै छ ।     
     
सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनको सम्झनामा उक्त दिवस मनाउन लागिएको हो ।     
     
आजको दिन विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरी राष्ट्रिय सूचना दिवस, २०८३ मनाउने राष्ट्रिय सूचना आयोगले जनाइएको छ ।     
विसं २०६४ साउन ५ गते सूचनाको हकसम्बन्धी कानुन संसद्बाट पारित भएको थियो । कानुन पारित भएको ३० दिनपछि कार्यान्वयनमा आउने व्यवस्था ऐनमा गरिएकाले २०६४ भदौ ३ गतेदेखि सूचनाको हकसम्बन्धी ऐन, २०६४ कार्यान्वयनमा आएको हो ।     
     
नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ ।     
     
लोकतन्त्रको प्राणवायुका रूपमा रहेको सूचनाको हकलाई व्यवहारमा उतार्दै यसको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले कानुन निर्माण गरिएको हो ।     
सार्वजनिक निकायमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व कायम गर्न तथा सुशासनको प्रत्याभूति गराउन सूचनाको हक अपरिहार्य रहेको राष्ट्रिय सूचना आयोगले जनाएको छ ।     
     
नागरिकको यस हकको निर्वाध प्रयोगबाट मात्रै मुलुकमा दिगो विकास र जनमुखी शासन प्रणालीको सुदृढीकरण सम्भव हुने आयोगले आज जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ । रासस 
 

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update