- ३४ वर्षअघि थालिएको दमक–चिसोपानी सडक कालोपत्र नहुँदा स्थानीयलाई सास्ती ।
- ३३ किमीमध्ये करिब साढे पाँच किमी मात्र कालोपत्र, अधिकांश खण्ड हिलाम्मे र धुलाम्मे ।
- आवतजावत, कृषि उत्पादन बजारीकरण र पर्यटकीय क्षेत्र पहुँचमा समस्या ।
रामकुमार लिम्बू/इलाम । झापाको दमकदेखि इलामको माङ्सेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक-चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको ३४ वर्ष बितिसक्दा समेत कालोपत्र हुन सकेको छैन । झापा, इलाम र पाँचथरलाई जोड्ने महत्त्वपूर्ण पहुँच मार्गका रूपमा २०४९ सालमा निर्माण थालिएको सडक अझै अधुरै रहँदा स्थानीयले वर्षौँदेखि सास्ती खेप्नुपरेको छ ।
झापाको दमकस्थित जिरो प्वाइन्टदेखि पाँचथरको चिसोपानी पञ्चमीसम्म ३३ किलोमिटर सडकमध्ये करिब साढे पाँच किलोमिटर मात्र कालोपत्र भएको छ । एक किलोमिटर कालोपत्रको चरणमा छ भने करिब २६ किलोमिटरको यात्रा अझै सहज छैन । जिरो प्वाइन्टदेखि माङ्सेबुङ गाउँपालिका-४ माङेबुङसम्म साढे छ किलोमिटरबाहेक बाँकी सडकमा स्थानीयले हिलो, धुलो र जोखिमपूर्ण यात्राको समस्या भोग्नुपरिरहेको छ ।
हिउँदमा धुलो र बर्खामा हिलोका कारण स्थानीय विस्थापित हुनुपरेको छ भने यात्रुहरू आजित बनेका छन् । जेठदेखि भदौसम्म मोटरसाइकल समेत कुदाउन नसकिने गरी सडक हिलाम्मे हुने र कात्तिकदेखि वैशाखसम्म घरै ढाक्नेगरी आउने धुलोको मुसलोले हैरान बनाउने गरेको स्थानीय बताउँछन् । लगातारको वर्षाका कारण सडक हिलाम्मे हुँदा यात्रामा जोखिम र सास्ती छ ।
सूर्योदयको दृश्यावलोकन गर्न सकिने तीनथुम्के र माङ्मालुङ डाँडा, गजरमुखी धाम, सहिद रत्नकुमार बान्तवा सहादतस्थल आँपडाँडा, किरात धर्मावलम्बीहरूको आस्थाको केन्द्र लारुम्बा (माङ्सेबुङ) जस्ता धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्न आउने पर्यटकहरूलाई आवतजावतमा समस्या हुने गरेको छ । सडक निर्माण पूरा नहुँदा इलाम र पाँचथरका विभिन्न पालिकाका बासिन्दालाई झापा आउजाउ गर्न तथा कृषि उत्पादनलाई बजारसम्म पुर्याउन ठूलो समस्या परेको छ । रासस
