गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पास्थित क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण बनेको छ । गोरखा भूकम्पपछि पहाड खोपेर निर्माण गरिएको उक्त पुल यस वर्षको वर्षायाममा माथिबाट ढुङ्गा खसेपछि क्षतिग्रस्त भएको हो ।
पुल जीर्ण भएपछि चुमनुब्री–६ र वडा नं ७ का बासिन्दालाई आवतजावतमा जोखिम भएको छ । केही दिनअघि पहाडबाट खसेको ठूलो ढुङ्गाले पुलमा क्षति पुर्याएको चुमनुब्री–६ लोक्पाका सेराप गुरुङले जानकारी दिनुभयो ।
चुमनुब्री–६ का कार्यवाहक वडाध्यक्ष ठिले ग्याजो लामाले पुलको छेउका केही जिप भत्किएको र पुललाई आड दिएका ढुङ्गासमेत खसेको बताउनुभयो । उहाँका अनुसार केही दिनअघि पुलको डेक, छेकबार तथा रेलिङमा प्रयोग गरिएको तारजालीमा क्षति पुगेको छ ।
“पहिले पनि बेलाबेलामा ढुङ्गा खस्ने समस्या हुँदै आएको थियो । अब पर्यटक आउने र चाडपर्वको समय सुरु हुन लागेकाले पुल जतिसक्दो छिटो मर्मत गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
सदरमुकामबाट टाढा रहेको चुमनुब्री–६ को लोक्पामा निर्माण गरिएको क्यान्टिलिभर पुल वडा नं ६ चुम्लिङ र वडा नं ७ छेकम्पारका बस्तीमा पुग्ने प्रमुख माध्यम हो । समयमै पुल मर्मत नगरे स्थानीयवासीलाई थप समस्या हुने चुम्लिङका गोपाल लामाले बताउनुभयो ।
“पुल नहुने हो भने गाउँपालिकाको केन्द्र फिलिम पुग्न हामीले अर्को बाटो घुमेर एक दिन थप यात्रा गर्नुपर्छ । बिरामी तथा घाइतेलाई झनै समस्या हुन्छ”, उहाँले भन्नुभयो ।
ढुङ्गा खसेपछि चुमनुब्री–७ छेकम्पारको चौँरीखर्क खण्डसमेत जोखिमपूर्ण बनेको स्थानीयले बताएका छन् । छेकम्पार पुग्न चौँरीखर्कको भिर हुँदै जानुपर्ने र माथिबाट ढुङ्गा खसिरहँदा बाटोमा लगाइएको तारबारसमेत भत्किएको स्थानीय गोपाल लामाले बताउनुभयो ।
हालै छेकम्पारसँग तिब्बत जोड्ने नाकासमेत खुलेको छ । नाका खुलेपछि स्थानीयले तिब्बततर्फ दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न जाने गरेका छन् । तर, ठाउँठाउँमा बाटो जोखिमपूर्ण बनेकाले आवतजावतमा समस्या भएको लोक्पाका सेराप लामाले बताउनुभयो ।
उहाँले जोखिम मोलेर आवतजावत गर्नुपरेको बताउँदै सडक र पुल समयमै मर्मत नगरे पर्यटकीय मौसममा थप समस्या हुने उल्लेख गर्नुभयो ।
राससका अनुसार क्यान्टिलिभर पुल मर्मतका लागि चुमनुब्री गाउँपालिकाले बजेट विनियोजन गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँसभाको निर्णयबाट पुल मर्मतका लागि रु १५ लाख विनियोजन गरिएको छ ।
“पुलको अवस्था जोखिमपूर्ण छ । अहिले मानिस र खच्चड जोखिम मोलेर आवतजावत गरिरहेका छन्”, उहाँले भन्नुभयो, “अबको केही दिनभित्रै पुल मर्मतको काम सुरु हुन्छ ।”
