RayNewsDaily
साना नदीको बहाव बढ्ने, सतर्क रहन आग्रह
  • नदीको बहाव बढ्ने चेतावनी । 
  • आकस्मिक बाढीको मध्यम जोखिम ।
  • तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह ।

रे समाचार/काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका स-साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले विभिन्न जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ ।

विभागका अनुसार बर्दियाको कर्णाली नदीको जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र तथा नदी आसपास डुबान भइरहने स्थानका बासिन्दालाई बेलुका विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, चितवन, नवलपरासी, रुकुम, जाजरकोट, डोल्पा, मुगु, सुर्खेत, बाँके, बर्दिया, सुदूरपश्चिमका दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरलगायत जिल्लामा बहने स-साना नदीको बहाव बढ्ने सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले ती क्षेत्रमा नदी आसपासका बासिन्दा तथा तल्लो तटीय क्षेत्रमा रहेका समुदायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update