- कवि श्रेष्ठको निधन
- भोलि श्रद्धाञ्जलि र अन्त्येष्टि
- ‘जनकवि’ उपाधिबाट सम्मानित
रे समाचार/काठमाडौँ । नेपाली तथा नेपाल भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु)को ९१ वर्षको उमेरमा निधन भएको छ । उहाँको आइतबार राति बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको परिवारजनले जनाएका छन् ।
उहाँको शव भोलि श्रद्धाञ्जलिका लागि नेपाल भाषा मंकाः खलःमा राखिने र सोही दिन शोभाभगवतीमा परम्पराअनुसार अन्त्येष्टि गरिने भएको छ ।
विसं १९९२ साउनमा जन्मनुभएका कवि श्रेष्ठले लामो समय क्षेत्रपाटीस्थित कन्यामन्दिर विद्यालयमा अध्यापन गर्नुभएको थियो । उहाँको पहिलो रचना ‘सान्त्वना’ कविता धर्मोदय पत्रिकामा प्रकाशित भएको थियो ।
कवि श्रेष्ठले विसं २०६० मा नेपाल भाषा परिषद्बाट ‘जनकवि’को उपाधि प्राप्त गर्नुभएको थियो । उहाँ २०६१ सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा-सभासद् पनि हुनुभएको थियो ।
उहाँका श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ ।
