RayNewsDaily
जाजरकोटका पहिरो पीडितलाई कर्णाली सरकारको राहत
  • रिसाङमा खाद्यान्नसहित राहत सामग्री पठाइयो । 
  • त्रिपाल, कम्बल, टेन्ट र खाद्यान्न उपलब्ध ।
  • खोज, उद्धार र राहतमा सुरक्षाकर्मी परिचालित ।

रे समाचार/कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका-२ रिसाङका पहिरो प्रभावित परिवारका लागि खाद्यान्नसहित राहत सामग्री पठाएको छ । जिल्ला प्रशासन कार्यालय तथा जिल्ला विपद् व्यवस्थापन समितिको मागअनुसार प्रदेश सरकारले आज प्रभावित क्षेत्रमा आवश्यक सामग्री पठाएको हो ।

प्रदेश सरकारले १५० थान त्रिपाल, ३५० थान कम्बल, १८५ थान ब्ल्याङ्केट, २० सेट टेन्ट, पिफर्म, प्लास्टिक, चार क्विन्टल चामल, २०० प्याकेट चाउचाउ र चिउरा पठाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतका सचिव लक्ष्मीकुमार विकले जानकारी दिनुभयो ।

प्रदेश आपतकालीन केन्द्रमा १० जिल्लालाई पुग्ने गरी राहत सामग्री भण्डारण गरिएको उहाँले बताउनुभयो । मुख्यमन्त्री मङ्गलबहादुर शाहीले विपद् प्रतिकार्य, खोज तथा उद्धार र राहतका लागि एक साताअघि नै तयारी अवस्थामा रहन निर्देशन दिनुभएको थियो ।

रिसाङमा पहिरोमा हराइरहेकाको खोज तथा उद्धार र विस्थापित परिवारको व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित सुरक्षा जनशक्ति परिचालन गरिएको छ । राहत तथा पुनर्स्थापनामा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी काम भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update