- रोल्पा, बाजुरा, जाजरकोट र बझाङमा अध्ययन ।
- तीन दिनभित्र टोली फिल्डमा पठाइने ।
- राहत, उपचार र पुनर्स्थापनालाई तीव्रता दिइने ।
रे समाचार/काठमाडौँ । अविरल वर्षासँगै गएको पहिरोबाट जनधनको क्षति भएका चार वटा जिल्लामा सरकारले भौगर्भिक अध्ययन टोली पठाउने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन प्रतिकार्य कमान्ड पोस्टको आज बसेको बैठकले तीन दिनभित्र अध्ययन टोली फिल्डमा पठाउने निर्णय गरेको हो ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार रोल्पाको थबाङ र सुनछहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका, जाजरकोटको भेरी नगरपालिका र बझाङका पहिरो प्रभावित क्षेत्रमा प्रारम्भिक भौगर्भिक अध्ययन गरिनेछ ।
बैठकले पहिरोबाट जनधनको क्षति भएका रोल्पा, जाजरकोट, बझाङलगायत जिल्लामा राहत तथा अनुदानलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी र सम्बन्धित सरोकारवालालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ अनुसार तत्काल राहत उपलब्ध गराउन तथा घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति र स्थानीय तहलाई अनुरोध गरिएको छ ।
त्यस्तै, अस्थायी आवास निर्माण, पुनर्निर्माण तथा पुनर्स्थापनाका काम कार्यविधिअनुसार तत्काल अघि बढाउन सम्बन्धित स्थानीय तह र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय भएको छ ।
