- जोखिममा रहेका बस्ती तत्काल सुरक्षित बनाउन निर्देशन ।
- अवरुद्ध सडक, खानेपानी र विद्युत् सेवा सञ्चालनमा जोड ।
- प्राविधिक अध्ययनपछि आवश्यक कदम तत्काल अघि बढाउने प्रतिबद्धता ।
त्रिशूली (नुवाकोट) । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नुवाकोटका विभिन्न स्थानमा पहिरोबाट जोखिममा परेका बस्ती तथा क्षतिग्रस्त पूर्वाधारको स्थलगत अवलोकन गर्नुभएको छ । उहाँले जोखिममा रहेका बस्तीको तत्काल संरक्षण तथा आवश्यक परे स्थानान्तरण गर्न र अवरुद्ध सडक, खानेपानी तथा विद्युत् सेवा सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
मन्त्री डा. तिमिल्सिनाले सूर्यगढी गाउँपालिका-१ स्थित सेमराङभिरमा गएको पहिरो तथा जोखिममा परेका बस्तीको अवस्था बुझ्नुभएको थियो । त्यसपछि वडा नं २ को फटपुर, पहरेथोक, रातमाटे, राम्चे र देविथानमा पहिरोले पुर्याएको क्षतिको निरीक्षण गर्नुभएको हो ।
पहिरोका कारण सडक आवागमन अवरुद्ध हुनुका साथै विद्युत् प्रसारण लाइन र ड्वाचे खानेपानी योजनाको पाइपलाइनमा क्षति पुगेको छ । सडक माथि तथा तलबाट खसेको पहिरोका कारण थप बस्ती जोखिममा परेको स्थानीयले जानकारी गराएका थिए ।
स्थलगत अवलोकन तथा जिल्ला विपद् व्यवस्थापन समिति र प्रभावित स्थानीयसँगको छलफलमा मन्त्री डा. तिमिल्सिनाले प्राविधिक अध्ययनका आधारमा आवश्यक कदम तत्काल अघि बढाइने बताउनुभयो । उहाँले बस्ती सुरक्षित बनाउन सम्भव नभए जोखिममा रहेका परिवारलाई तत्काल स्थानान्तरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सूर्यगढी गाउँपालिकाका वडा नं १ र २ मा गएको पहिरोले तीन पालिकामा वितरण हुँदै आएको ड्वाचे खानेपानी तथा विद्युत् प्रसारण लाइनमा क्षति पुगेको छ । सडकमा भएको अवरोध हटाई आवश्यकताअनुसार वैकल्पिक व्यवस्था मिलाउन पनि मन्त्री डा तिमिल्सिनाले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, सडक डिभिजन नुवाकोट र पूर्वाधार विकास कार्यालयका प्राविधिक सहभागी थिए ।
मन्त्री डा तिमिल्सिनाले सूर्यगढीसहित दुप्चेश्वर, तादी, पञ्चकन्या र शिवपुरी गाउँपालिकामा पहिरोबाट भएको क्षति तथा जोखिमको स्थलगत अध्ययनपछि आवश्यक काम सङ्घीय सरकारको नेतृत्वमा सरोकारवाला निकायको समन्वयमा अघि बढाइने बताउनुभएको छ । रासस
